विराटनगरका कोरोना संक्रिमत : धरानमा पीसीआर गरे, शनि मन्दिर चोकमा पानको पत्ता बेचे

संक्रमित व्यक्तिले काम गरेकाे पान पसलको बन्द सटर (हरियो) ।

विराटनगर, १५ साउन । विराटनगरमा कोरोना संक्रमण पुष्टि भएका व्यक्ति पान पसलमा काम गर्ने रहेकाे पाइएपछि बजारमा त्रास फैलिएको छ ।

समुदायमा संक्रमण फैलिएको विराटनगरमा बुधबार कोरोना संक्रमण पुष्टि भएका एक पुरुष पान पसलमा काम गर्ने कामदार हुन् । संक्रमित व्यक्तिले विराटनगर शनि मन्दिर चोकमा सञ्चालित पान पसलमा काम गर्दै आएका थिए । संक्रमण पुष्टि भएपछि पनि पानको पत्ता बिक्री गरेको पाइएपछि स्थानीय त्रसित बनेका हुन् ।

कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले ती पुरुषलाई पानपसलबाटै एम्बुलेन्समा राखेर क्वारेन्टाइन हुँदै आइसोलेसनमा पठाएको थियो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शल्यक्रिया गर्नु अघि कोरोना जाँचका लागि स्वाब संकलन गरेका व्यक्तिको रिपोर्ट बुधबार दिउँसो पोजेटिभ आएको थियो ।

रिपोर्ट आएपछि विराटनगर महानगरपालिकाले खोजी गर्दा उनी शनि मन्दिर चोकमा रहेको पान पसलमा थिए । पान पसलबाट करिब साढे ४ बजे विराटनगर महानगरपालिकाको टोलीले उनलाई विराटनगर–१९ बैजनाथपुर क्वारेन्टाइनमा लगेर राखेको थियो ।

क्वारेन्टाइनमा राखेको केही समयपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक हैदर अलीले जानकारी दिए । ‘धरानबाट जानकारी आएपछि हामीले खोजी गर्याै,’ उनले भने, ‘खोजी गर्दा उनी पान पसलमा भेटिए ।’

कोरोना संक्रमणको संकास्पद लक्षण देखिएका व्यक्तिलाई स्थानीय प्रशासनले होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै आएको छ । तर ती संक्रमित पुरुषले भने कोरोना जाँचपछि पनि पान पसलमा काम गरिरहेका थिए ।

संक्रमित व्यक्ति धरान गएको र कोरोना जाँच गरेको महानगरले जानकारी पाएको थिएन । तर संक्रमण पुष्टि भएपछि मात्र महानगरले जानकारी पाएको हो ।

संक्रमित व्यक्तिले पानको पत्ताको कारोबार गरेका कारण सतर्क रहन महानगरपालिकाले आग्रह गरेको छ । पान पसल सञ्चालकलाई महानगरपालिकाले काली धर्मशाला क्वारेन्टाइनमा राखेकाे छ ।

मंगलबार विराटनगर–३ का कोरोना संक्रमित एक पुरुष कोरोना जाँचको रिपोर्ट लिन विराटनगर महानगरपालिकाको कार्यालय पुगेका थिए ।

गत शुक्रबार पनि विराटनगर–३ कञ्चनवारीका ३३ वर्षीय युवक कोरोना जाँचपछि बजार डुलेका थिए । उनको रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा भर्ना गरिएको थियो ।

Loading...