birat ribon

राष्ट्रिय गौरवका आयोजनामा समस्यै–समस्या

Neuro
राष्ट्रिय गौरवका आयोजनामा समस्यै–समस्या

काठमाडौ, १५ साउन । राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न नहुने, तोकिएको लागतमा पूरा नहुने र गुणस्तरीयरुपमा निर्माण नहुने गरेको समस्या देखिएको छ ।

Padelux insider
cura insider

वर्षौदेखि निर्माण सुरु भएका गौरवका आयोजनाहरु कहिले स्रोत अभाव त कहिले अन्य स्थानीय समस्याहरुका कारण निर्माण सम्पन्न हुन सकेका छैनन् । राष्ट्रिय योजना आयोगका उपध्यक्ष डा. पुष्पराज कँडेल आयोजनाहरु तोकिएको लागत, समय र गुणस्तरमा काम हुन नसकेको बताउँछन् ।

गौरबका आयोजनाहरु जुन गतिमा निर्माण हुनुपर्ने हो त्यो गतिमा हुन नसकेकाले यसमा गम्भीरतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता रहेको उनले बताए । आयोजना निर्माणमा अहिले वातावरणीय मूल्याङ्कन, जग्गा अधिग्रहण, वन क्षेत्रको समस्या देखिएको उनले बताए ।

विभिन्न मन्त्रालयका सचिवहरुले स्रोतको समस्याका कारण गौरवका आयोजनाहरु निर्माणमा विलम्ब हुने गरेको बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा भएको छलफलमा मन्त्रालयका सचिवहरुले लकडाउनका कारण केही आयोजनाहरु प्रभावित भए पनि अधिकांश आयोजनामा भौतिक प्रगति सन्तोषजनक रहेको बताएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले विभिन्न विमानस्थलहरु निर्माणका काम सन्तोषजनक रहेको बताए । निजगढ विमानस्थलमा भौतिक प्रगति उल्लेख नभए पनि अदालतको फैसला आएपछि बाँकी प्रक्रिया अगाडि बढाइने उनले बताए । पशुपति गुरुयोजनाअनुसार ८४ प्रतिशत काम सम्पन्न भएको र लुम्बिनी क्षेत्र विकासको काम ८५ प्रतिशत सकिएको उनले बताए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले पुष्पलाल मध्यपहाडी र लोकमार्गमा ५३ प्रतिशत काम भएको बताए । गत आर्थिक वर्षमा एक सय ११ किलोमिटर गरी अहिलेसम्म आधाभन्दा बढी सडक कालोपत्रे भएको उनले बताए । हुलाकी सडकको ५५ प्रतिशत कम सम्पन्न भएको छ । गौरवका आयोजना निर्माणमा स्रोतको समस्या देखिएको उनले बताए ।

उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेश घिमिरेले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा ७१ प्रतिशत काम सम्पन्न भएको बताए । मुख्य सुरुङका लागि परामर्शदाता विज्ञहरु ल्याउनुपर्नै भए पनि अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण समस्या भइरहेको उनले बताए ।

बूढीगण्डकी जलविद्युत आयोजनामा अहिलेसम्म ३२ अर्ब २७ करोड १७ लाख बराबरको मुआब्जा वितरण भएको उनले बताए । कुल ५८ हजार एक सय ५३ रोपनीमध्ये अहिलेसम्म ४७ हजार तीन सय ३९ रोपनीको मुआब्जा वितरण भएको उनले बताए ।

सिक्टा सिँचाई आयोजनाको ६३ प्रतिशत भौतिक प्रगति भएको छ । पश्चिमतर्फको ४५ किलोमिटर मुल नहर तयार भइसकेको छ । गतवर्ष आयोजनाबाट १६ हजार हेक्टरमा सिँचाई सुविधा पुगेको छ । बाँकेमा मात्रै ९० प्रतिशत क्षेत्रमा सिक्टा सिँचाईको पानीले रोपाइँ गरिएको छ । रानी जमरा गुलरिया आयोजनामा ४८ प्रतिशत प्रगति भएको छ ।

jackson ribon