अर्थरमाथि बार्सिलोनाको खराब व्यवहार

एजेन्सी, १५ साउन । ब्राजिलियन मिडफिल्डर अर्थर मेलोले बार्सिलोनाले आफूमाथि खराब व्यवहार गरेको आरोप लगाएका छन् ।

ब्राजिलबाट फर्किने अनुमति नपाएका कारण नफर्किँदा आफूविरुद्ध मुद्धा हाल्ने प्रयास गरेको जनाउँदै अर्थरले यस्तो बताएका हुन् ।

अर्थर हाल ब्राजिलमा रहेका छन् । ला लिगा सकिएपछि स्वदेश गएका उनले बार्सिलोनाको प्रशिक्षण र त्यसअघि क्लबले गरेको कोरोना परीक्षणमा सहभागिता जनाएनन् ।

गत सोमबार बार्सिलोनाले सबै खेलाडीको कोरोना भाइरस परीक्षण गरेको थियो, जसमा उनी अनुपस्थित रहेका थिए ।

यस्तै मंगलबारदेखि बार्सिलोना च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा उत्रिएको थियो, त्यहाँ पनि उनले सहभागिता जनाएनन् ।

स्पेनिस मिडिया ‘मार्का’का अनुसार २३ वर्षीय अर्थरले बार्सिलोना छोड्ने मनसाय गरेका छैनन् ।

उनले अझै पनि बार्सिलोनासँगको आफ्नो सम्झौता बचाउन खोजिरहेका छन् । यस विषयमा उनका प्रतिनिधिले बार्सिलोनासँग सम्पर्क गरिरहेको मार्काले जनाएकाे छ ।

तर, क्लबले भने उनलाई जुनको अन्त्यतिरै इटालियन क्लब युभेन्टसमा बेचिसकेको छ ।

यता, ब्राजिलबाट नफर्किएको कुरालाई बार्सिलोनाले सकारात्मक रूपमा नहेरेको अर्थरको बुझाइ छ । आफू ब्राजिलबाट निस्कन नपाउनुको कारण रहेको अर्थरले जनाएका छन् ।

ब्राजिलबाट फर्किन अनुमति नपाएका कारण आफूले केही साताका खेल गुमाउने पनि प्रष्ट पारेका छन् ।

यता, बार्सिलोनाले भने सम्झौता सकिनुअघि नै खेल्न अस्वीकार गरेको भन्दै अर्थरमाथि कानूनी कारवाही गर्ने जनाएको थियो ।

युभेन्टस जाने पक्का भएका अर्थरले पुनः क्याप नोउबाट खेल्न नसक्ने पनि जनाएका थिए ।

अर्थर यसै सिजन ७२ मिलियन युरोमा सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टस जाने पक्का भएको छ ।

क्लबले उनलाई युभेन्टसका स्टार मिरालेम पियानिकसँग साटेको हो । युभेन्टस जाने पक्का भए पनि उनले जारी सिजनको च्याम्पियन्स लिग सकिन्जेलसम्म बार्सिलोनाका लागि नै खेल्नुपर्ने हुन्छ ।

अर्थरले बार्सिलोना छोड्न नचाहेको संकेत गर्दै आफ्नो इच्छाविपरीत निकालेर दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

प्रशिक्षक क्वीक सेटिनले आफूलाई जबरजस्ती क्लब छोड्न लगाएको आरोप लगाउँदै अर्थरले बार्सिलोनाबाट फेरि पनि खेल्नका लागि अस्वीकार गरेका थिए ।

सेटिन र अर्थरबीचको सम्बन्ध खासै राम्रो रहेको पाइँदैन । च्याम्पियन्स लिग खेल्न नदिने सेटिनकै योजना रहेको पनि अर्थरको दाबी छ ।

यता, बार्सिलोनाले भने अर्थरको ब्राजिल बसाइलाई विद्रोही र अनुशासनहीन तबरले हेरेको छ । र, क्लबले अर्थरविरुद्धको मुद्धा तयार गरेको बताइएको छ ।

तर, क्लबको कानूनी कारवाही समिति र खेलाडीबीच समन्वय भएमा यो मुद्धा दर्ता नगरिने पनि बताइएको छ ।

९ जुलाई २०१८ मा ब्राजिलियन क्लब ग्रेमियोबाट बार्सिलोना आएका अर्थरले त्यहाँबाट ७२ खेल खेलेका छन् । २०१९–२० मा भने उनले २८ खेल खेलेका छन् ।

Loading...