रुसले भन्यो : अब दुई साताभित्र कोरोनाविरुद्धको भ्याक्सिन सर्वसाधारणको प्रयोगका लागि स्वीकृत गरिन्छ

एजेन्सी, १५ साउन । रुसले विश्वमा कोरोना भाइरसको भ्याक्सिनलाई स्वीकृति दिने पहिलो देशका रूपमा आफूलाई चिनाउने तयारी गरिरहेको छ ।

रुसका अधिकारीहरूका अनुसार अबकाे दुई साताभित्रै अर्थात १० अगष्टसम्ममा भ्याक्सिनले आधिकारिकता पाउने गरी तयारी भएरहेको सीएनएनमा उल्लेख गरिएको छ ।

मस्कोस्थित गामेल्या इन्स्टिच्युटले विकास गरेको भ्याक्सिनलाई सर्वसाधारणको प्रयोगका लागि स्वीकृत गरेसँगै पहिलो प्राथमिकता स्वास्थ्यकर्मीलाई दिइने बताइएको छ ।

भ्याक्सिनको सुरक्षा, प्रभावकारिता र विकासका चरणहरू पार गरिसकेको वा नगरेको कुनै वैज्ञानिक तथ्य सार्वजनिक गरिएको छैन ।

केही भ्याक्सिनहरूको तेस्रो चरणको क्लिनिकल ट्रायल भइरहेको बेला रुसको भ्याक्सिनले भने अझै दोस्रो चरणको ट्रायल समेत पूरा गर्न बाँकी छ । भ्याक्सिन विकासकर्ताहरूले ३ अगस्टमा दोस्रो परीक्षण पूरा हुने र त्यसपछि तेस्रो चरणको क्लिनिकल ट्रायलसँगै समानान्तर रुपमा स्वास्थकर्मीलाई पनि भ्याक्सिन लगाइदिने बताएका छन् ।

रुसी वैज्ञानिकहरुले यो भ्याक्सिन यसअघि नै अन्य रोगविरुद्ध लड्नका लागि तयार गरिएका भ्याक्सिनहरूको संशोधित स्वरुप रहेकाले यसलाई चाँडै विकास गरिन लागिएको बताएका छन् ।

संसारभर दर्जनौं भ्याक्सिनको परीक्षण चलिरहेको बेलामा थोरै भ्याक्सिनले मात्रै ठूलो संख्यामा परीक्षण गरिरहेका छन् ।

भ्याक्सिन विकासकर्ताहरूले भ्याक्सिनलाई स्वीकृति दिनुपूर्व गर्नुपर्ने धेरै काम बाँकी रहने भन्दै सतर्क गराउँदै आएका छन् ।

Loading...