आज खीर खाने दिन, यस्ता छन् खीर खानुका फाइदाहरू

विराटनगर, १५ साउन । आज १५ साउन अर्थात् खीर खाने दिन । चामलमा दूध, घिउ, किसमिस, काजू, नरिवल, छोकडा तथा अन्य विशेष मरमसला आदि हालेर खीर बनाइन्छ ।

१५ असारका दिन दही चिउरा खाए जस्तै एक महिनापछि वर्षाले थकित भएको शरीरलाई ऊर्जामय बनाएर सन्तुलनमा राख्न मद्दत गर्नका लागि १५ साउनमा खीर खाने चलन छ । १५ साउनमा खाने खीरले सांस्कृतिक मात्रै नभई वैज्ञानिक महत्त्व बोकेको छ ।

खीर नरम हुने भएकाले सजिलै पचाउन सकिने हुँदा बच्चादेखि बृद्धलाई समेत खीरको सेवन गराउन सकिन्छ ।

खीरमा मिसाएर पकाइने विभिन्न मसलाहरूले शरीरलाई चाहिने विभिन्न पोषक तत्वहरू प्रदान गरेको हुन्छ ।

चामलमा कार्बाेहाइड्रेट पाइन्छ । खीरमा हालिने अन्य सामग्रीले भिटामिन र मिनरल्स आपूर्ति गर्छ, त्यसैले थोरै खाएर धेरै पोषण प्राप्त गर्न सकिन्छ ।

घिउले फ्याट, दूधले क्याल्सियम, प्रोटिन तथा भिटामिन, ड्राइ फ्रुट्सहरूले विभिन्न खनिज तत्वहरू प्रदान गर्छ ।

साउन महिना पानी पर्ने महिना भएकाले खीरको सेवनले विभिन्न संक्रामक रोगहरूबाट छुट्कारा पाउन र शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

खीरको सेवनले दाँत, हड्डी तथा मांसपेशीलाई बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

पित्त, कफ, दाद, खटिरा तथा लुतो हटाउन र शरीरको तापमानलाई सन्तुलनमा राख्नका लागि साउन महिनामा खीरको सेवन गर्नुपर्ने मान्यता छ ।  

Loading...