हारपछि सार्रीको धम्की : रोमाविरुद्ध यू-२३ का खेलाडीलाई मैदान उतार्छु

एजेन्सी, १५ साउन । इटालियन क्लब युभेन्टसका प्रशिक्षक मौरिजियो सार्रीले सिरी ‘ए’ अन्तर्गत क्याग्लीआरीविरुद्धको हारपछि रिसाएका छन् ।

३७औं चरणको खेलमा पराजित भएपछि उनले व्यस्त तालिकाका कारण समस्या परेकाे भन्दै अर्को खेलमा यू–२३ का खेलाडीलाई मैदान उतार्ने धम्की दिएका छन् ।

लिग च्याम्पियन बनिसकेको युभेन्टसले बुधबार राति भएको खेलमा क्याग्लीआरीसँग २–० गोलको पराजय भोगेको थियो ।

क्याग्लीआरीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन लुका गाग्लीआनो र जियोभानी सिमेवनले समान एक–एक गोल गरे ।

जितसँगै ४५ अंक जोड्दै क्याग्लीआरी १३औं स्थानमा उक्लिएको छ भने पराजित, युभेन्टस भने ८३ अंकका साथ शीर्ष स्थानमा छ ।

अब शनिबार युभेन्टसले याे सिजनकाे सिरी ‘ए’ काे अन्तिम खेलमा रोमाको सामना गर्नेछ । रोमासँगको भेट युभेन्टसको १२ दिनभित्रको पाँचौं खेल हुनेछ ।

व्यस्त खेल तालिकाबीच हुने सो खेल युभेन्टसको मैदानमा हुनेछ । यस खेलमा यू–२३ का खेलाडी मैदान उतार्ने सार्रीले धम्की दिएका हुन् ।

‘यस सिजन ४० गोल स्वीकार्नु एउटा चिन्ताको विषय बन्न सक्छ, तर क्याग्लीआरीसँगको खेल खेलजस्तो थिएन’, खेलपछि पत्रकारसँग बोल्दै सार्रीले भने ।

यसैगरी सार्रीले व्यस्त तालिकाका कारण आफूहरू समस्यामा परेको संकेत गरे ।

‘६८ घण्टाअघि च्याम्पियन बन्दा हाम्रा खेलाडीहरू घाइते भए । यसैले पनि हामीले यो खेल गुमाउनु नै थियो । हामी अझै बलियो भएर आउनै पर्छ, तर युरोपमा हामी नै एउटा यस्तो क्लब हौं जसले १२ दिनभित्र पाँच खेल खेल्छ । लिगले हाम्रा लागि ठूलो समस्या सिर्जना गरेको छ’, उनले भने ।

‘अब हेरौं भोलि के हुनेछ, यदि यो उपयुक्त हुन्छ भने रोमाविरुद्धको खेलमा यू–२३ का खेलाडीहरू उतार्ने छु । यो नै पुनरागमनका लागि उपयुक्त विकल्प हुनेछ’, उनले थपे ।

Loading...