नेपाली सेना र चिकित्सकसहित वीरगञ्जमा थपिए ५३ संक्रमित

वीरगञ्ज, १५ साउन । वीरगञ्जमा नेपाली सेना र चिकित्सक स्वास्थ्यकर्मीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पताल वीरगञ्जको प्रयोगशालामा गए राति गरिएको पीसीआर परीक्षणमा थप ५३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

पीसीआर परीक्षणको क्रममा नारायणी अस्पतालको क्वार्टरमा बस्दै आएका ११ जना स्वास्थ्यकर्मीका परिवार पनि संक्रमित देखिएका छन् ।

अस्पतालका दुई चिकित्सकसहित ४ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले जनाए । ३ वर्षदेखि ६० वर्ष उमेरसमूहका १५ महिला, वीरगञ्जको श्रीपुरस्थित नेपाली सेनाको ब्यारेकका थप दुई जवानसहित ५३ जना नयाँ संक्रमित थपिएको उनको भनाइ छ ।

नयाँ संक्रमित ५३ जनामध्ये २ जना बाराको जितपुर स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी रहेको पुष्टि भएको छ । त्यसैगरी पर्साको छिपहरमाई गाउँपालिका, टिहुकीका एक र पटेर्वासुगौली गाउँपालिका–५ का तीन जना संक्रमित भएका छन् ।

अन्य संक्रमितहरूमा वीरगञ्ज महानगरपालिकाको छपकैया, मुर्ली, सिर्सिया, पानी ट्यांकी, बिर्ता, रेसमकोठी बस्ने व्यक्तिहरू रहेका छन् ।

Loading...