birat ribon

विराटनगरमा बढ्दो कोरोना संक्रमण, अस्पतालमा भीड भने उस्तै

Neuro
विराटनगरमा बढ्दो कोरोना संक्रमण, अस्पतालमा भीड भने उस्तै

शिवहाङ राई

Padelux insider
cura insider

विराटनगर, १५ साउन । लकडाउन खुलेसँगै सार्वजनिक यातायात सञ्चालन हुन थालेपछि विराटनगरका अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको छ । बिरामीको चाप बढे पनि पर्याप्त सुरक्षा सतर्कता अपनाइएको छैन ।

प्रदेश नं १ राजधानी विराटनगरमा समुदायस्तरमा संक्रमण फैलिए पनि अस्पतालहरुले पर्याप्त सुरक्षा सतर्कतामा ध्यान नदिँदा संक्रमण फैलने जोखिम उच्च छ ।

स्थानीय प्रशासनले बजार निस्कँदा मास्क अनिवार्य गरिएको छ । तर अस्पतालमा पुग्ने सबैको अनुहारमा मास्क देखिँदैन । विराटनगरका केही अस्पतालले अस्पताल परिसर प्रवेश गर्नुअघि साबुन–पानीले हात धुने, सेनिटाइज गर्ने र तापक्रम नाप्ने गरेको भए पनि सबै अस्पतालले यो नियम लागू गरेका छैनन् ।

सेवाग्राहीले नियम पालना नगरे पनि अस्पताल प्रशासनले ध्यान दिएको छैन ।

जनस्वास्थ्यविद डा. नवराज सुब्बा अस्पतालजस्तो क्षेत्रले कोरोना महामारी नियन्त्रण तथा रोकथाम गर्न विशेष ध्यान दिनुपर्ने बताउँछन् ।

‘लकडाउन खुलेकाले विभिन्न स्थानबाट सेवाग्राही अस्पताल आउँछन्, यस्तो बेलाको संक्रमित हुन्, को होइनन् छुट्टयाउन गाह्रो हुन्छ,’ सुब्बा भन्छन्, ‘अस्पताल प्रशासनले पनि सेवाग्राहीलाई अनिवार्य मास्क, अस्पताल प्रवेश गर्नुअघि तापक्रम नाप्ने, हात सेनिटाइज गरिदिने र भीडभाड हुने क्षेत्रमा सामाजिक दूरीको नियम अनिवार्य गरिदिनुपर्छ ।’

कोभिड व्यवस्थापनको जिम्मेवारी निर्वाह गरिरहेको कोशी अस्पतालमै पनि सेवाग्राहीले सामाजिक दूरीको नियम पालना गरिरहेका छैनन् ।

कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले अस्पताल आउने सेवाग्राहीबीच आवश्यक दूरी कायम गर्न स्टीकर बनाएर रेखाङ्कन गरेको बताइरहँदा सेवाग्राहीले भने यो नियम पालना गरेका छैनन् ।

अस्पताल प्रशासनले प्रवेशद्वारबाटै मास्क अनिवार्य गरेको भए पनि सेवाग्राहीले मास्क लगाएका छैनन् । अस्पताल परिसरभित्र विभिन्न स्थानमा साबुन–पानीले हात धुने व्यवस्था गरिएको भए पनि सेवाग्राहीले खासै प्रयोग गरेको देखिँदैन ।

अस्पतालले गर्नुपर्ने आवश्यक व्यवस्था गरिसकेकाले मानिसलाई थप सचेत बनाउँदै सुरक्षित उपाय अपनाउन अनुरोध गर्न अस्पतालका विभिन्न ठाउँमा अडियो सामग्री बजाउने तयारी थालिएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर दासले बताए ।

विराटनगरको सरकारी अस्पतालको मात्र नभई निजी अस्पतालको हालत पनि उस्तै छ । दैनिक एक हजारभन्दा बढी सेवाग्राही आउने नोवेल मेडिकल कलेजले आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरु अपनाएको छैन ।

अस्पतालको ओपीडीलगायतका अन्य काउन्टरमा सेवा लिन लाममा बसेका मानिसले सामाजिक दुरी पालना गर्न टाँसिएका स्टीकरको वास्ता गरेको देखिँदैन । नोवेल मेडिकल कलेजमा व्यवस्थापन प्रमुख नारायण ढकाल अस्पतालले आफ्नो क्षमताले सकेसम्म स्वास्थ्य सुरक्षाका नियम पालना गरिरहेको बताउँछन् । सेवाग्राहीलाई पनि पालना गर्न अनिवार्य गरिरहेको उनले बताए ।

सेवाग्राहीलाई मास्क, साबुन–पानीले हात धुन र सेनिटाइजरको प्रयोग अनिवार्य गरेको न्यूरो अस्पताल सामाजिक दुरीको नियम पालना गराउन सकेको छैन ।

ओपीडी, बिल काउन्टरलगायतका क्षेत्रमा सेवाग्राहीका सुविधाका लागि राखिएका सिटहरुमा बस्ने मानिसहरुले आवश्यक सामाजिक दूरी अपनाएका छैनन् । अस्पताल प्रशासनले कडाइँ गरेको भए पनि सेवाग्राहीले अटेर गर्ने गरेको अस्पतालका निर्देशक रञ्जितराज बस्नेतले बताए ।

‘कोभिडले शारीरिकरुपमा भन्दा बढी मानसिकरुपमा मानिसलाई असर पु¥याएको छ, हामीले सबैलाई सामाजिक दूरीको नियम पालना गर्न आग्रह गर्दा गर्दै पनि कतिजना अटेर गर्नुहुन्छ’ बस्नेत भन्छन्, ‘यस्तो बेलामा हामीले उहाँहरुलाई सम्झाउने प्रयास गरेका छौं । अस्पताल प्रशासन नेपाल सरकारले बनाएको स्वास्थ्य सुरक्षा प्रोटोकलको पालना गर्न चुकेको छैन ।’

विज्ञहरुले मास्क, सेनिटाइजर र सामाजिक दूरीको नियम अनिवार्य पालना गर्न सके कोरोना महामारी नियन्त्रण सम्भव हुने बताए पनि सर्वसाधारणले सामाजिक दुरीलाई महत्व दिएका छैनन् ।

jackson ribon