कोरोना भाइरस नियन्त्रणका सवालमा अमेरिका गलत बाटोतर्फ लागेको भन्दै अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ तथा कोरोना भाइरसविरुद्धको अभियानका शीर्ष सल्लाहकार डा. एन्थोनी फाउचीले चिन्ता व्यक्त गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै सामाजिक सञ्जलामा कोरोना भाइरसको संक्रमण रोक्नका लागि मास्क आवश्यक नरहेको सहितका गलत दाबी गरिएको भिडियो साझा गरेपछि फाउचीले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

उनले ट्रम्पले कोभिड–१९ विरुद्धको लडाईमा असहयोग गरिरहेको आरोप पनि लगाए । पछिल्ला विभिन्न घटना क्रमले कोभिड–१९ का सावलमा ट्रम्पसँग डा. फाउचीको मत बाझिएर गएको प्रष्ट पार्छ ।
ट्रम्पले साझा गरेको भिडियोमा मास्कको विरोध गर्नुका साथै वैज्ञानिक तथा स्वास्थ्यविज्ञले अस्वीकृति गरेको र कुनै पनि वैज्ञानिक प्रमाण नभएको औषधि कोरोना भाइरसको उपचारमा प्रभावकारी हुने दाबी गरिएको बीबीसीले जनाएको छ ।
सो भिडियो हाल फेसबुक र ट्वीटरले हटाएका छन् । गलत सूचना दिएको भन्दै भिडियो हटाइए पनि १७ मिलियन भन्दा बढीले हेरिसकेका थिए ।
फाउचीले मास्क प्रयोग गर्न नपर्ने पक्षमा सुझाउने खालको भिडियोको पक्षमा आफू नरहेको बताएका छन् ।

मास्क नलगाउँदा संक्रमण हदैसम्म फैलने उनको तर्क छ ।
डा. फाउची र राष्ट्रपति ट्रम्पबिचको सम्बन्ध राम्रो छैन । ट्रम्पले लगातार डा. फाउचीसहितका आफ्नै विज्ञहरुको सुझाव विपरित कोरोना भाइरसका सम्बन्धमा गलत र भ्रामक अभिव्यक्ति दिँदै आएको बीबीसीले उल्लेख गरेको छ ।
विश्वमै महामारीका रुपमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक अमेरिका हो ।