मास्क र पञ्जा बिर्सिए गाडी चढ्न नपाइने

विराटनगर, १५ साउन । तपाईलाई गाडी चढेर कुनै ठाउँसम्म पुग्नु पर्ने छ ? यदि गाडीको यात्रु बनेर गन्तव्यसम्म पुग्नु पर्ने छ भने मास्क र पञ्जा लगाउन नबिर्सनु होला ।

मुहारमा मास्क र हातमा पञ्जा नलगाएमा गाडी चढ्न पाइने छैन । गाडी चढ्न नपाउँदा भनेका समयमा गन्तव्यमा पुग्न सकिँदैन ।

मास्क र पञ्जा नलगाए विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणको जोखिम पनि धेरै हुन्छ ।

‘लकडाउन’ अन्त्य भएसँगै सार्वजनिक सवारीसाधन पनि सञ्चालनमा आउन थालेका छन् । सवारी सञ्चालन भएसँगै जोखिम पनि बढेको छ ।

कोरोना संक्रमणको जोखिमबाट बचाउने उद्देश्यले प्रदेश १ मा ट्राफिक प्रहरीले मास्क र पञ्जा नलगाउने यात्रुलाई सार्वजनिक सवारीसाधनमा यात्रा गर्न पूर्णरुपमा रोक लगाएको छ ।

ट्राफिकले यात्रुलाई मास्क र पञ्जा अनिवार्य गर्दै नलगाउनेलाई गाडी चढ्न नदिइकन फिर्ता पठाउन थालेको हो ।

‘यात्रुले मास्क र पञ्जा लगाउँदा आफू पनि सुरक्षित होइन्छ । अरुलाई पनि सुरक्षित राख्न सकिन्छ,’ मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदारले भने, ‘सवारीचालकले पनि मास्क, पञ्जा र सेनिटाइजर अनिवार्य प्रयोग गर्नु पर्ने नियम कडाइँका साथ लागू गरिएको छ ।’

कोही पनि असुरक्षित नहुन् र कसैमा पनि संक्रमण नफैलिओस भनेर गाडीका कर्मचारीदेखि यात्रुसम्म सबैलाई महामारीको रुप लिएको कोरोना संक्रमणबाट बचाउन सार्वजनिक सवारीसाधनको अनुगमनलाई तीव्र पारिएको उनको भनाइ छ ।

‘नियमको पालना गर्ने र नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याइने छ,’ प्रनि पोदारले भने, ‘बस पार्कबाट यात्रु लिएर छुट्नुअघि चालक तथा सहचालकले मास्क, पञ्जा लगाए–नलगाएकोदेखि यात्रुहरुका लागि बस्ने सिटको अवस्थासमेत हेर्न थालिएको छ ।’

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले फिल्डमा खटिने ट्राफिकलाई आफू सतर्क भएर संक्रमणबाट सबैलाई जोगाउन सवारीसाधनमा नियमको पालना भए-नभएको अनुगमन गर्न ठाउँठाउँमा परिचालन गरिएको बताए ।

नियमको पालना नगर्नेलाई पहिलो चरणमा सम्झाईबुझाई गर्ने र दोस्रो चरणमा कारबाहीको दायरामा ल्याइने उनको भनाइ छ ।

शर्माले सवारीसाधनका कर्मचारीलाई आफूले पनि नियमको पालना गर्न र नियम उल्लंघन गर्ने यात्रुलाई नचढाउन भनिसकिएको बताए ।

‘संक्रमणको भयावह अवस्थामा कारबाही ठूलो कुरा हैन । आफै सचेत बन्नु पर्छ,’ उनले भने, ‘कारबाहीले मात्रै समस्याको समाधान हुँदैन । आफैले सावधानी अपनाइयो भने संक्रमणको ठूलो जोखिमबाट बच्न र बचाउन सकिन्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’

चालक, सहचालक तथा यात्रुले सवारी चढेर ओर्लिएपछि अनिवार्यरुपमा साबुनपानीले हात धुनु पर्ने, यात्रु ओसारपसार गरिसकेपछि प्रत्येक पटक सफा गरी सवारीसाधनलाई जीवाणुरहित (डिसइन्फेक्ट) गर्नु पर्ने, प्रत्येक सवारीमा सेनिटाइजर राखेर प्रयोगमा ल्याउनु पर्ने, सिट क्षमताको आधा मात्रै यात्रु चढाउनु पर्ने, चालकले फेस शिल्डको प्रयोग गर्नु पर्ने नियम ट्राफिक प्रहरीले लगाएको छ ।

त्यस्तै यात्रुले पनि सिट खाली छ भनेर बस्नलाई जबरजस्ती गर्न नपाइने, यात्रुसँग साविकको ५० प्रतिशतभन्दा बढी भाडा लिन नपाइने, दूरी कायम हुनु पर्ने, एकअर्कामा हात नमिलाइकन नमस्कारका साथ स्वागत सम्मान गर्नु पर्ने, रुघा, खोकी र ज्वरो भएका यात्रुले सवारीसाधन प्रयोग गर्न नपाइने नियम लागू गरिएको छ ।

रुघा, खोकी र ज्वरो भएका चालकले गाडी चलाउन नपाइने, साबुनपानीले हात धोइरहनु पर्ने र सेनिटाइजरको प्रयोग गरिरहनु पर्ने नियम ट्राफिकले बनाएको छ ।

ट्राफिक प्रहरीले अतिआवश्यक कामबाहेक यात्रा नगर्न र सवारी साधनमा अनआवश्यक भीडभाड नगर्न सबैमा अनुरोध गरेको छ । त्यस्तै कोरोना संक्रमणबाट बच्न जथाभावी नथुक्न, सिँगान नपुछ्न, सवारीसाधनमा जथभावी नछुन, हातले मुख, आँखा, नाक समेतका अंग नछुन तथा व्यक्तिगत सजगकता, सतर्कता र सावधानी अपनाउन सबैमा आग्रह गरिएको एसपी शर्माले बताए ।

Loading...