मिलानको शानदार जित, इब्राहिमोभिको दुई गोल

एजेन्सी, १५ साउन । इटालियन सिरी ‘ए’ मा एसी मिलानले शानदार जित हात पारेको छ । बुधबार राति भएको खेलमा मिलानले साम्पोडोरियामाथि ४–१ गोलको शादार जित निकालेको हो ।

साम्पोडोरियाको मैदानमा भएको खेलमा मिलानलाई जिताउन ज्लाटान इब्राहिमोभिकले दुई गोल गरे भने हाकन काल्हान्ग्लु र राफेल लियोले समान एक–एक गोल गरे । साम्पोडोरियाका क्रिस्टोफर एस्किल्डसेनले एक गोल फर्काए ।

खेलको चौथो मिनेटमा इब्राहिमोभिकले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाए । उनको गोलमा पहिलो हाफभरि मिलानले अग्रता बनाएको छ ।

खेलको ५२औं मिनेटमा हाकनले गोल गर्दै मिलानको अग्रता दोब्बर बनाए । ५८औं मिनेटमा इब्राहिमोभिकले दोस्रो गोल गर्दै पाहुना टोलीलाई ३–० गोलको अग्रता दिलाए ।

खेलको ८७औं मिनेटमा एस्किल्डसेनले गोल गर्दै खेल ३–१ गोलको अवस्थामा ल्याए । खेलको इन्ज्युरी समयमा लियोले गोल गरेपछि मिलानले ४–१ गोलको जित निकालेको हो ।

जितसँगै छैटौं स्थानको मिलानले ६३ अंक जोडेको छ । पराजित साम्पोडोरिया ४१ अंकका साथ १५औं स्थानमा छ ।

Loading...