क्याग्लीआरीसँग च्याम्पियन युभेन्टस स्तब्ध

एजेन्सी, १५ साउन । इटालियन सिरी ‘ए’ मा च्याम्पियन बनिसकेको युभेन्टस पराजित भएको छ । बुधबार राति भएको खेलमा युभेन्टस क्याग्लीआरीसँग २–० गोलले स्तब्ध भएको हो ।

क्याग्लीआरीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन लुका गाग्लीआनो र जियोभानी सिमेवनले समान एक–एक गोल गरे ।

खेलको आठौं मिनेटमा गाग्लीआनोले गोल गर्दै क्याग्लीआरीलाई सुरुआती अग्रता दिलाएका थिए ।

यस्तै पहिलो हाफको इन्ज्युरी समयमा सिमेवनले गोल गरेपछि क्याग्लीआरीले लिग विजेता युभेन्टसलाई २–० गोलले हराएको हो ।

जितसँगै ४५ अंक जोड्दै क्याग्लीआरी १३औं स्थानमा उक्लिएको छ । पराजित, युभेन्टस भने ८३ अंकका साथ शीर्ष स्थानमा छ ।

Loading...