कोरोनाले ज्यान गुमाएका पुरुष : पहिलो पटक भारतबाट फर्कदा नेगेटिभ, दोस्रो पटक फर्कदा पोजेटिभ

विराटनगर, १४ साउन । बुधबार कोरोना संक्रमणका कारण ज्यान गुमाएका व्यक्ती भारतबाट आएको खुलेको छ ।

मंगलबार कोशी अस्पताल विराटनगर आएका सुनबर्सी नगरपालिका – ८ सिक्टीका ४५ वर्षिय पुरुषलाई बुधबार बिहान कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालको फिवर क्लिनिकमा आएका व्यक्तीलाई आइसोलेशनमा राखेर स्वाब संकलन गरिएको थियो ।

बुधबार संक्रमण पुष्टि भएपछि गम्भिर अवस्था भएका ति व्यक्तीलाई धरान रेफर गरेको थियो । दिउँसो करिब १ बजे धरान पुगेका संक्रमित व्यक्तीको पौने ५ बजे मृत्यु भएको हो ।

प्रहरीका अनुसार काेराेनाका कारण ज्यान गुमाएका व्यक्ति केही दिन अघि मात्र भारतबाट घर आएका हुन ।

संक्रमित व्यक्ति दुई महिना अघि भारतबाट आउँदा उनलाई स्थानीय प्रशासानले क्वारेन्टाइनमा राखेको थियो । क्वारेन्टाइनमा जाँच गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । तर ति व्यक्ती फेरी लुकेर भारत पुगेका थिए ।

पछिल्लो समय भारतबाट फर्किएको जानकारी स्थानीय प्रशासनले पाएको थिएन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार भारतबाट आएका व्यक्ति घरमै बसेका थिए । ‘७–८ दिन अघि भारतबाट आएको खुलेको छ ।’ उनले भने ‘स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकाे देखिन्छ ।’

सुनबर्सी नगरपालिकाका मेयर कालिप्रसाद दासले भारतबाट फर्किएको बारे नगरपालिकालाई जानकारी नै नभएको बताए । ‘भारतबाट आएको नगरपालिकालाई जानकारी नै थिएन् ।’ उनले भने ‘ पोजेटिभ भएपछि थाहा भयो ।’

Loading...