अगुएरोले रियल मड्रिडविरुद्धको खेल गुमाउने

एजेन्सी, १४ साउन । इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरोले च्याम्पियन्स लिगअन्तर्गत रियल मड्रिडविरुद्धको खेल गुमाउने भएका छन् ।

सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले चोटका कारण अर्जेन्टिनी स्टार अगुएरो रियलसँगको खेलमा उपस्थित नहुने पुष्टि गरेका हुन् ।

सिटीले ७ अगस्टमा च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगमा स्पेनिस च्याम्पियन क्लब रियल मड्रिडको सामना गर्दैछ ।

सिटीको मैदान इतिहादमा हुने यो खेल घरेलु टोली बलियो अवस्थामा रहने छ ।

गत फेब्रुअरीमा रियलको मैदानमा भएको खेलमा सिटीले २–१ गोलको जित निकालेको थियो । अब दाेस्राे लेगकाे खेलमा बराबरीमा रोकिएको खण्डमा पनि सिटीले क्वार्टरफाइनलमा स्थान बनाउने छ ।

प्रिमियर लिगको उपाधि लिभरपुललाई सुम्पिनु परेपछि र एफए कपबाट पनि बाहिरिनु परेपछि सिटी च्याम्पियन्स लिग जितेर एउटा उपाधि सुरक्षित गर्ने दाउमा छ ।

तर, खेलाडीको चोटका कारण सिटीलाई समस्या पर्नसक्ने देखिएको छ ।

रियलविरुद्ध मुख्य हतियार मानिएका अगुएरो उपस्थित नहुने भएपछि ग्वार्डीओलालाई थप समस्या पर्ने देखिएको हो ।

अगुएरोको गत २४ जुनमा घुँडाको शल्यक्रिया गरिएको थियो । उनको सो समस्या अझै ठीक भइसकेको छैन ।

Loading...