लाजियोले सिल्भालाई भित्र्याउने

एजेन्सी, १४ साउन । इटालियन क्लब लाजियोले स्पेनिस स्टार डेभिड सिल्भालाई भित्र्याउने योजना बनाएको छ । स्पेनिस मिडिया ‘एएस’का अनुसार लाजियाले हालै म्यानचेस्टर सिटी छोडेका सिल्भालाई यसै समरमा अनुबन्धन गर्ने तयारी थालेको हो ।

३४ वर्षीय विश्वकप विजेता सिल्भा आइतबार राति प्रिमियर लिगअन्तर्गत नर्विच सिटीविरुद्ध खेल्दै म्यानचेस्टर सिटीबाट बिदा भए । सिटीको मैदान इतिहादमा भएको सो खेलमा सिल्भाले ८५ मिनेटसम्म मैदानमा बसे ।

१४ जुलाई २०१० मा स्पेनिस क्लब भ्यालेन्सियाबाट सिटी आएका केही समयअघि मात्र क्लब छोड्ने घोषणा गरेका थिए । पूर्वघोषणाअनुसार २०१९–२० को प्रिमियर लिगको अन्तिम खेलसँगै बिदा भएका उनी अहिले क्लबविहीन छन् ।

अब भने सिरी ‘ए’ क्लब लाजियोले ‘फ्री ट्रान्सफर’मा सिल्भा अनुबन्धन गर्ने तयारी थालेको स्पेनिस मिडियाले जनाएको छ । लाजियो हाल अनुभवी खेलाडी आफ्नो टोलीमा अनुबन्ध गर्ने तयारीमा छ । यसैले लाजियोले सिल्भालाई सम्पर्क गरेको बताइएको छ ।

लाजियोका खेल निर्देशक इग्ली तारे भर्खरै सिटी छोडेका सिल्भा आफूहरूले खोजेको जस्तो खेलाडी भएको बताएका छन् । एएसका अनुसार लाजियो र सिल्भा सम्झौता नजिक पुगेका छन् ।

सिल्भा र तारेले हालै भेट गरी एकसाथ डिनर गर्दै लाजियोको भविष्यका विषयमा कुराकानी गरेको इटालियन मिडिया गजेट्टा डेल्लो स्पोर्ट्सको दाबी छ । लाजियाले उनीसँग कमसेकम दुई वर्ष सम्झौता गर्ने जनाइएको छ ।

त्यसबाहेक सिल्भामाथि साउदी अरिबियाको अल–अहली र दुबईको अल–नासरले नजर लगाएको बताइन्छ ।

सिल्भा सन् २०१० को विश्वकप जितेसँगै सिटीमा आवद्ध भएका थिए । सिटीमा अनुबन्ध भएका उनले त्यहाँबाट धेरै कीर्तिमान बनाएका थिए । उनी सिटीमा अनुबन्ध भएका पहिलो विश्वकप विजेता खेलाडी पनि हुन् । त्यसबाहेक उनी प्रिमियर लिगमा सबैभन्दा छिटो २०० खेल जित्ने खेलाडीसमेत बनेका थिए ।

सिटीबाट ४३३ खेल खेलेका उनले चार प्रिमियर लिग, दुई एफए कप र पाँच लिग कपको उपाधि जितेका छन् । उनले सिटीबाट ७७ गोल र १४० गोलमा पास मिलाएका छन् । यस सिजनको प्रिमियर लिगमा उनले २६ खेल खेल्दा ६ गोल र १० असिस्ट गरेका छन् ।

उनले गत मे महिनामा सिटी छोड्ने निर्णय गरेका थिए । उनले राष्ट्रिय टोली भने सन् २०१८ मै छोडेका थिए ।

Loading...