सिरी ‘ए’ को उपाधि जितेपछि पेलेले गरे तारिफ, ‘रोनाल्डो आधुनिक खेलाडी’

एजेन्सी, १३ साउन । ब्राजिलियन लिजेन्ड पेलेले युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोको तारिफ गरेका छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा पेलेले सिरी ‘ए’को उपाधि जिताएका रोनाल्डोको प्रशंसा गरेका हुन् ।

युभेन्टसले गत आइतबार राति साम्पोडोरियामाथि २–० गोलको जित निकाल्दै दुई खेल अगाडि नै लगातार नवौं पटक सिरी ‘ए’का उपाधि जितेको थियो । युभेन्टसको मैदानमा पोर्चुगिज स्टार रोनाल्डोले एक गोल गरेका थिए ।

सन् २०१८ मा युभेन्टस आएका उनको यो दोस्रो सिरी ‘ए’ उपाधि हो । यो सिजनको सिरी ‘ए’मा ३१ गोल गरेका उनले टोलीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका छन् ।

पाँच पटकका बालोन डी‘ओर रोनाल्डो उमेरले ३५ भएता पनि प्रदर्शनमा उत्तिकै जोश देखिन्छ । यस्तैमा पेलेले रोनाल्डो आधुनिक खेलाडी भएकाे बताएका छन् ।

इन्स्टाग्राममा पेलेले लेखेका छन्, ‘क्रिस्टियानो रोनाल्डो आधुनिक खेलाडी हुन्, जसले सबैलाई देखाउँछन् कि सफलता सधैं त्यस्ता व्यक्तिलाई प्राप्त हुन्छ जो समर्पित छ र जो आफ्नो कामलाई माया गर्छ ।’

यसैगरी उनले आफ्नो देशका स्टारहरू डग्लस कोस्टा, एलेक्स सान्ड्रो र डेनिलोलाई पनि बधाई दिएका छन् ।

Loading...