बार्सिलोनाद्वारा अर्थरविरुद्ध मुद्धा !

एजेन्सी, १४ साउन । स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन मिडफिल्डर अर्थर मेलोविरुद्ध मुद्धा दर्ता गर्ने भएको छ ।

सम्झौता सकिनुअघि नै खेल्न अस्वीकार गरेको भन्दै बार्सिलोनाले आफ्ना मिडफिल्डर अर्थरमाथि कानूनी कारवाही गर्ने भएको हो ।

युभेन्टस जाने पक्का भएका अर्थरले पुनः क्याप नोउबाट खेल्न अस्वीकार गरेका थिए । २३ वर्षीय अर्थर यसै सिजन ७२ मिलियन युरोमा सिरी ‘ए’ च्याम्पियन क्लब युभेन्टस जाने पक्का भएको छ ।

क्लबले उनलाई युभेन्टसका स्टार मिरालेम पियानिकसँग साटेको हो । युभेन्टस जाने पक्का भए पनि उनले जारी सिजनको च्याम्पियन्स लिग सकिन्जेलसम्म बार्सिलोनाका लागि नै खेल्नुपर्ने हुन्छ ।

तर, हाल छुट्टीमा स्वदेश ब्राजिलमा रहेका उनले क्लब फर्किन र च्याम्पियन्स लिग खेल्न अस्वीकार गरेका थिए । गत सोमबार बार्सिलोनाले सबै खेलाडीको कोरोना भाइरस परीक्षण गरेको थियो, जसमा उनी अनुपस्थित रहेका थिए ।

यस्तै मंगलबारदेखि बार्सिलोना च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा उत्रिएको थियो, त्यहाँ पनि उनले सहभागिता जनाएनन् ।

अर्थरले बार्सिलोना छोड्न नचाहेको संकेत गर्दै आफूलाई युभेन्टसमा दिएर दुर्व्यवहार गरेको आरोप लगाएका छन् । आफूलाई जबरजस्ती क्लब छोड्न लगाएको आरोप लगाउँदै अर्थरले बार्सिलोनाबाट फेरि पनि खेल्नका लागि अस्वीकार गरेका हुन् ।

यता, बार्सिलोनाले भने अर्थरको कार्यलाई विद्रोही र अनुशासनहीन तबरले हेरेको छ । र, उसले अर्थरमाथि मुद्धा दर्ता गर्ने निर्णय गरेको छ ।

‘यदि, अर्थरले जिम्मेवार तरिकाले काम गरेको वा वार्तालाप गरेको भए परिस्थितिलाई अझ दयनीय ढंगले समाधान गर्न सकिन्थ्यो, क्लबले भनेको छ ।

क्लबले अर्थरविरुद्धको मुद्धा तयार गरेको छ । तर, क्लबको कानूनी कारवाही समिति र खेलाडीबीच समन्वय भएमा यो मुद्धा दर्ता नगरिने बताइएको छ ।

९ जुलाई २०१८ मा ब्राजिलियन क्लब ग्रेमियोबाट बार्सिलोना आएका अर्थरले त्यहाँबाट ७२ खेल खेलेका छन् । २०१९–२० मा भने उनले २८ खेल खेलेका छन् ।

Loading...