सुनसरी–मोरङ कोरिडोर पुनः त्रासमा

विराटनगर, १४ साउन । तीन महिना लामो बन्दाबन्दी झेलेर उद्योग–व्यवसाय सञ्चालनमा ल्याएका सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगी–व्यवसायी पुनः त्रासमा परेका छन् ।

कोरोना संक्रमणको बढ्दो दर र समुदायस्तरमा फैलिएको आशंकाले करिडोरका उद्योगी–व्यवसायीमा त्रास उत्पन्न गरिदिएको हो ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले पछिल्लो दस दिनको संक्रमण अवस्थाले उद्योग–व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने चिन्ता बढेको बताए ।

उद्योगीहरूको छाता संस्था उद्योग संगठन मोरङ र व्यवसायीहरूको छाता संस्था मोरङ व्यापार संघले एक महिनासम्मका लागि जिल्लामा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णयसमेत गरिसकेका छन् ।

दैनिक उद्योगमा जाने उद्योगीहरू पछिल्लो एक सातादेखि कर्मचारीकै भरमा उद्योग छोडेर घरमै बसेको घिमिरेले बताए ।

संघ र संगठनले सञ्चालनमा रहेका उद्योगलाई मास्क, सेनिटाइजर, थर्मल गन र साबुन–पानीको प्रयोेग बढाउँदै उद्योगमा सामाजिक दूरी कायम गराउने अनिवार्य सर्त हुनुपर्ने निर्णयसहितको परिपत्र गरिसकेका छन् ।

लकडाउन लम्बिदै जाँदा जेठको अन्तिम सातादेखि उद्योगहरू क्रमशः सञ्चालनमा आएका थिए ।

कोरिडोरका साना, मझौला र ठूला गरी छ सय उद्योगमध्ये दुईवटा कार्पेट उद्योगबाहेकले ७० प्रतिशत क्षमतामा उत्पादन सुरु गरिसकेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

उनकाअनुसार कोरिडोरबाट २० प्रतिशत कामदार कटौती गरिएको छ ।

कोरोना संक्रमण जोखिमको प्रमुख कारण भारतबाटै आउने मजदुर हुनसक्ने उद्योगी–व्यवसायीको ठम्याइ छ ।

सुनसरी–मोरङ औद्योगिक करिडोरमा कार्यरत ६० हजार मजदुरमध्ये २० प्रतिशत भारतीय छन् ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले उत्पादन ह्रासमा सञ्चालित उद्योगहरू पुनः बन्द गनुपर्ने अवस्था आए अर्थतन्त्रले धान्न नसक्ने स्थिति सिर्जना हुने बताए ।

उनले उद्योग कर्मचारीकै भरमा मात्रै लामो समयसम्म सञ्चालन हुनसक्नेमा आफूलाई विश्वास नरहेको बताए ।

विस्तारै ‘पिकअप’ लिँदै गरेका उद्योग बन्द गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने चिन्ताले सताइरहेको उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ

Loading...