च्याम्पियन्स लिग खेल्नका लागि संघर्षरत डेबाला

एजेन्सी, १३ साउन । इटालियन क्लब युभेन्टसका फरवार्ड पाउलो डेबाला च्याम्पियन्स लिगअन्तर्गत अन्तिम १६ को दोस्रो लेग खेल्नका लागि संघर्षरत रहेकाे छन् ।

साम्पोडोरियासँगको खेलमा घाइते भएका अर्जेन्टिनी स्टार डेबाला फ्रेन्च क्लब लियोनविरुद्धको दोस्रो लेगको खेल खेल्नका लागि संघर्षरत रहेका छन् ।

आइतबार राति साम्पोडोरियामाथि २–० गोलको जित निकाल्दा उनले चोट बोकेका थिए ।

युभेन्टसको मैदान एलियान्ज स्टेडियममा भएको सो खेलको ४०औं मिनेटमा डेबाला घाइते भएका थिए । उनको स्थानमा प्रशिक्षक मौरिजियो सार्रीले गोन्जालो हिगुइन मैदान प्रवेश गरेका थिए ।

डेबालाले देब्रे तिघ्रामा चोट बोकेका थिए । सोमबार विज्ञप्ति जारी गर्दै युभेन्टसले डेबाला चोटबाट मुक्त हुन संघर्षरत रहेकाे जनाएकाे हाे ।

मेडिकल जाँच गर्दा उनकाे तीघ्रामा गम्भीर चोट देखिएका कारण उनले केही समय मैदानबाहिर बस्नुपर्ने जनाइएकाे छ । यद्यपि, उनले लियोनसँगकाे खेलका लागि मैदान फर्किन संघर्ष गरिरहेकाे बताइएकाे छ ।

चोट गम्भीर नै रहेकाले उनी च्याम्पियन्स लिगअन्तर्गत लियोनसँगको खेलमा फर्किनेमा शंका उत्पन्न भएको छ ।

यता, सोही दिन घाइते भएका डेनिलोको चोट भने गम्भीर नरहेका कारण उनी लियोनसँगको खेलबाट मैदान फर्किने आशा गरिएको छ ।

सो खेलको २९औं मिनेटमा डेनिलोले घाइते भइ मैदान छाडेका थिए । डेनिलोको सट्टामा सार्रीले फेडेरिको बर्नान्डेस्चीलाई मैदान प्रवेश गराएका थिए ।

अब युभेन्टसले लिगमा दुई खेल खेल्न बाँकी छ । अब काग्लीआरी र रोमासँग खेलेपछि युभेन्टस च्याम्पियन्स लिगको तयारीमा जुट्नेछ ।

च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत दोस्रो लेगको खेलमा युभेन्टसले फ्रेन्च क्लब लियोनसँग खेल्नेछ । ७ अगस्टमा हुने यो खेल युभेन्टसको मैदानमा हुनेछ ।

लियोनसँगको खेल दबाबपूर्ण भएका कारण डेबाला अनुपस्थित भएमा युभेन्टसलाई झन् गाह्रो हुने देखिएको छ ।

गत फेब्रुअरीमा भएको पहिलो लेगको खेलमा युभेन्टस पराजित भएको थियो । लियोनको मैदानमा भएको खेलमा युभेन्टस १–० गोलले स्तब्ध भएको थियो ।

यसैले लिस्बोनमा हुने त्यसपछिका च्याम्पियन्स लिगका खेलमा सहभागिता जनाउन उसले लियोनमाथि जित निकाल्नैपर्ने दबाब छ ।

Loading...