सीपीएलको खेल तालिका सार्वजनिक : उद्घाटनमा नाइट राइडर्स र अमेजन वारिवर्सले खेल्ने

एजेन्सी, १३ साउन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को उद्घाटनमा ट्रीनबागो नाइट राइडर्स र गुएना अमेजन वारिवर्सले खेल्ने भएका छन् ।

सीपीएलले सार्वजनिक गरेको खेल तालिकाअनुसार ट्रीनिडाड एन्ड टोबेगोमा २ भदौ अर्थात १८ अगष्टमा हुने उद्घाटन हुने खेलमा नाइट राइडर्स र अमेजन वारिवर्सले खेल्ने भएका हुन् ।

सोही दिन बार्बाडोस ट्राइडेन्ट्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रीओट्सबीचको खेल पनि हुनेछ । कोरोना महामारीको जोखिमका कारण प्रतियोगिता बन्द रंगशालामा हुनेछ ।

सन्दीप भने यस सिजनको सीपीएलका लागि जमैका तल्लावाहजमा अनुबन्धित भइसकेका छन् । उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर (एक करोड ५६ लाख रूपैयाँ)मा अनुबन्ध गरेको हो ।

उनी उक्त टिमको मार्की खेलाडी हुन् । सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सीपीएल खेलिसकेका छन् । सन्दीप तेस्रो पटक सिपिएल खेल्ने तयारीमा छन् ।

उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो ।

उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए । यस्तै दोस्रो पटक सिपिएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेले ।

उनले छ खेलमा आठ विकेट लिएका थिए । सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए ।

यस वर्षको सिपिएलका लागि सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ । यस पटकको सिपिएलका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।

२५ भदौसम्म चल्ने सीपीएलमा कुल ३३ खेल हुने छन् ।

सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रीनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् ।

Loading...