बायर्नले भन्यो : बालोन डी‘ओर रद्द गर्नु लेवान्डोस्कीका लागि अन्याय

एजेन्सी, १३ साउन । जर्मन क्लब बायर्न म्युनिखले फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी‘ओर रद्द गर्नु रोबर्ट लेवान्डोस्कीका लागि अन्याय भएको बताएको छ ।

बायर्नका अध्यक्ष कार्ल–हेइन्ज रुमेन्गेले लेवान्डोस्की बालोन डी‘ओरको हकदार रहेको जनाउँदै यस अवार्ड रद्द हुँदा उनका लागि अन्याय भएको जनाए ।

फ्रान्स फुटबलले कोरोना महामारीका कारण सन् २०२० को संस्करणको बालोन डी’ओर अवार्ड रद्द गर्ने निर्णय गरेको थियो । सन् १९५६ देखि प्रदान गरिँदै आएको यो अवार्ड पहिलो पटक २०२० मा रद्द भएको हो ।

कोरोनाका कारण फुटबल क्षेत्र प्रभावित भएको थियो । कोरोनाकै कारण फ्रान्सेली लिग वान रद्द भएको थियो । त्यसबाहेक बुन्डेसलिगा, प्रिमियर लिग, ला लिगा र सिरी ‘ए’ भने सुचारु भएका थिए ।

जसमा बायर्नले बुन्डेसलगाको उपाधि जितेको थियो । पोल्याण्डका स्टार लेवान्डोस्कीले बायर्नलाई घरेलु लिग र जर्मन लिग कपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका थिए ।

त्यसबाहेक उनी क्लबलाई ‘ट्रेबल’ उपाधि जिताउने अभियानमा रहेका छन् । च्याम्पियन्स लिग पनि जित्ने दाउमा रहेका उनले यस सिजन सबै प्रतियोगिता गरी बायर्नका लागि ५१ गोल गरेका थिए ।

‘लेवान्डोस्कीको यो सिजन निकै राम्रो रह्यो’, रुमेन्गेले भने, ‘सायद यो सिजन उनको करिअरकै उत्कृष्ट रह्यो । दुर्भाग्य, फ्रान्स फुटबलले बालोन डी‘ओर रद्द ग¥यो । हामी यसमा खुशी छैनौं । यो अन्याय हो, बायर्नलाई मात्र होइन लेवान्डोस्कीका लागि पनि । उनको जित्ने सम्भावना निकै थियो ।’

Loading...