लथालिङ्ग विराटनगरको बालउद्यान

यज्ञ अधिकारी

विराटनगर, १३ साउन । बालबालिकालाई खेल्न, सिक्न र रमाइलो गर्न विराटनगर–१ मा निर्माण भएको बालउद्यान लथालिङ्ग अवस्थामा छ । १७ वर्षअघि स्थापना भएको बालउद्यान तीन वर्षयता लथालिङ्ग अवस्थामा पुगेको हो ।

उद्यानमा राखिएका बालबालिकाको खेल सामग्री कुनै पनि काम लाग्ने अवस्थामा छैनन् । सबै खेल सामग्री निकालेर एक ठाउँमा थुपारिएको छ । उद्यानमा घास काट्न पुगेकी संगिता राजवंशीले बालबालिका खेल्न नआउने गरेको बताइन् ।

‘खेल्ने सामग्री सबै उखेलेर राखेको छ ।’ उनले भनिन्, ‘केटाकेटी के खेल्न आउँछन् ?’ बालउद्यान अहिले घाँस काट्ने ठाउँजस्तो बनेको छ । उद्यानमा विगत तीन वर्षदेखि बालबालिकालाई प्रवेशमा पूर्णरुपमा रोक लगाइएको छ ।

जीर्ण बनेको उद्यान एकजना कार्यालय सहयोगीले हेरचाह गरिरहेका छन् । बालबालिका आउन छाडेको तीन वर्ष भएको उद्यान अहिले जीर्ण अवस्था पुगेको कार्यालय सहयोगी दिनेशकुमार रेग्मीले बताए ।

माहिला तथा बालबालिका कार्यालयले रेखदेख गर्ने गरी उद्यानको निर्माण भएको थियो । जिल्ला प्रशासनको मातहतमा रहेको अवस्थामा पाँच वर्षसम्म उद्यान राम्रो व्यवस्थापनमा सञ्चानल भएको थियो । उनका अनुसार उद्यानमा चारजना कर्मचारी रहेका थिए । अहिले उनी एक्लै छन् । त्यहाँ कार्यरत कर्मचारीलाई सेवासुविधा दिन समस्या हुन थालेपछि उद्यान अधोगतितिर लाग्न थालेको उनले बताए ।

उद्यानको व्यवस्थापन राम्रो हुँदा बिदाको दिन तीन सयको हाराहारीमा बालबालिका खेल्न अउने गरेको रेग्मीले सम्झना गरे । अहिले उद्यानका खेल सामग्री बिग्रिएको र टुटफुट भएकाले बालबालिकालाई प्रवेशमा रोक लगाइएको उनले बताए । उद्यानको भवन पनि चुहिन थालेको उनले बताए । विराटनगर महानगरपालिकाले निर्माणका लागि बजेटको समेत व्यवस्था गरेको उनले बताए ।

महिला तथा बालबालिका कार्यालय मोरङले सञ्चालन गर्न नसकेपछि विराटनगर महानगरपालिकाले २०७४ सालबाट व्यवस्थापनको जिम्मा लिएको थियो । विराटनगर महानगरपालिकाले अघिल्लो आर्थिक वर्षबाटै बजेटको व्यवस्था गरे पनि निर्माणको काम अगाडि बढ्न सकेको छैन ।

विराटनगर महानगरपालिकाले बालउद्यानभित्र नेपालको पहिलो बालमैत्री स्थानीय शासन अध्ययन केन्द्र सञ्चालन गरेको छ ।

केन्द्रमा नेपालका विभिन्न स्थानबाट अध्ययनका लागि आउने गरेको महानगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख डिल्ली धिमालले जानकारी दिए । अध्ययनका लागि महानगरपालिकाले पर्याप्त पुस्तकको व्यवस्था गरेको धिमालले जानकारी दिए । यद्यपि बर्खाको समयमा भवनको छत चुहिएर बसेर अध्ययन गर्न सक्ने अवस्था छैन ।

विराटनगर महानगरपालिकाले उद्यान र अध्ययन केन्द्रको भवन तला थप्न अघिल्लो वर्ष ३० लाख विनियोजन गरेको जानकारी दिएका धिमालले काम अगाडि नबढेको बताए ।

Loading...