बैतडीमा हिरासतमा रहेका युवकमा कोरोना पुष्टि

बैतडी, १२ साउन । बैतडीमा थुनुवासहित थप सात जनामा कोरोना पुष्टि भएको छ ।

डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका ६ जना र पुर्चौंडी नगरपालिकाका एक जनामा आज कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।

पुर्चौंडी नगरपालिका १० का ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी अहिले बलात्कार आरोपमा इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा छन् ।

अहिले प्रहरीको हिरासतमा भएपनि उनी गएको मंसिरमा भारतबाट फर्केका बताइएको छ ।

यस्तै पाटन नगरपालिकाका ६ जनामध्ये एक जना सुत्केरी महिला र अन्य ५ जना पुरुषमा कोरोना पुष्टि भएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

पाटन नगरपालिका–१० का ३ जना र पाटन नगरपालिका–६ का ३ जना गरी ६ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमित थुनुवा र सुत्केरी महिलाको कन्ट्रयाक्ट ट्रेसिङ गरिने स्वास्थ्य कार्यालयका प्रमुख भट्टले जानकारी दिनुभयो ।

योसँगै बैतडीमा कोरोना संक्रमितको संख्या ३०७ पुगेको छ ।

Loading...