भदौ १५ बाट नियमित पठनपाठनको सम्भावना

विराटनगर, १२ साउन । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गरेर आगामी भदौ १ गतेबाट विद्यार्थी भर्नाका लागि बाटो खोलेको छ ।

जसले विद्यार्थी तहमा नियमित पठनपाठन हुने सम्भावना बढेको छ ।

सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन गर्ने विगतको अभ्यास छ ।

सरकारले यसअघि भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि खुला गर्ने निर्णय गरिसकेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले विगतमा सरकारले विद्यार्थी भर्नाको तयारीका लागि १५ दिन समय दिने र त्यसपछि नियमित पठनपाठन सुरु गर्ने गरेकाले यसपटक पनि त्यो सम्भावना रहेको बताए ।

कोरोनाको संक्रमण नबढेको अवस्थामा भदौ मध्यबाट पठनपाठनको सम्भावना देखिएको उनको भनाइ छ ।

भदौ १५ गतेबाट विद्यालय तहको पठनपाठन नियमित सुरु गर्न सकिए आगामी चैत वा वैशाखसम्म पठनपाठन पूरा गर्न सकिने सम्भावना रहेको जनाइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Loading...