घरगृहस्थी सम्हाल्नु, महाकाव्य लेख्नुभन्दा कम होइन : मन्दिरा मधुश्री

मन्दिरा मधुश्रीको जन्म भोजपुर जिल्लाको महादेवस्थान गाविस वडा नम्बर एक मुलाबारीमा आमा डम्बरकुमारी कोइराला र बुवा गणेशप्रसाद कोइरालाको पाँचौ सन्तानको रूपमा भएको हो ।
उहाँको बाल्यकाल कहालिलाग्दो, दर्दनाक र संघर्षमय भएर नै बित्यो । उहाँको संक्षिप्त संषर्ष केही समय पहिले नै कोशी अनलाइनले प्रकाशन गरिसकेको छ ।

२०५६/५७ देखि साहित्य लेख्न थाल्नुभएका मधुश्री ५७ को साउन अंकको मधुपर्कमा ‘सहरको कथा’ छापिएपछि साहित्यको क्षेत्रमा उदाउनुभयो । त्यसपछि गरिमा, अभिव्यक्ति, रचना, समष्टि, मिर्मिरेजस्ता सबैजसो पत्रिकामा कथा गजल, गीत प्रकाशन भए । २०७३ मा बुधनको घोडी कथासंग्रह र २०७६ मा मधुराग गजल संग्रह प्रकाशन गर्नुभएकी मधुश्री नेपाली साहित्याकाशमा उज्यालो नक्षत्र हुनुहुन्छ ।

छोटो समयमै उहाँले उत्कृष्ट कथा विशेषाङ्क पुरस्कार, कन्काई प्रतिभा पुरस्कार, षडानन्द प्रतिभा पुरस्कार, ॐ कार्की स्मृति साहित्य पुरस्कार, कविडाँडा राष्ट्रिय कथा प्रतियोगितामा तेस्रो पुरस्कारलगायतका पुरस्कारहरू र नवरङ्ग नवनारी सम्मानद्वारा सम्मानित भइसक्नुभएको छ ।

डम्बरकुमारी गणेश साहित्य प्रतिष्ठान र डम्बरकुमारी गणेश आख्यान पुरस्कारका संस्थापक अध्यक्ष कोइराला, साहित्य सञ्चार समूह इटहरी, बनिता त्रैमासिक, नेपाल साहित्य परिषद, गुन्जनलगायतका साहित्यिक संघसंस्थामा आबद्ध हुनुहुन्छ । प्रस्तुत छ कोशी अनलाइनका लागि रामप्रसाद पौडेलले गर्नुभएको कुराकानी :

साहित्य लेखनको सुरूवात कसरी गर्नुभयो ?

मैले साहित्य धेरैपछि लेख्न सुरु गरेकी हुँ । सानैदेखि घरमा पढ्ने वातावरण त थियो । तर साहित्य लेखनको पृष्ठभूमि चाहिँ थिएन । घरमा बुवाका पुराना थुप्रै धार्मिक किताबहरु थिए । हामी सानो हुँदा कति त बुवाले पढेर सुनाउनुहुन्थ्यो । पछिपछि दाजुहरुले विभिन्न पत्रपत्रिका, किताब ल्याउनुहुन्थ्यो । ती पढ्दै जाँदा साहित्य पढ्न रुचि जाग्दै गयो ।

बिए पढ्दा मैले पनि पत्रमित्रता गरेँ रहरले । मेरो अक्षर र लेखाइबाट साथीहरू प्रभावित हुन्थे । साथीहरू भन्थे, ‘तपाईंको चिट्ठी पढ्दा माधव काफ्लेका निबन्ध पढेजस्तै’ लाग्छ भनेर । तर म साहित्यका कुनै विधा लेख्दिन थिएँ त्यसबेलासम्म । न त माधव काफ्ले नै चिन्थेँ । जे होस् पत्रमित्रतामा पत्र लेख्दा पनि मेरो लेखन शैलीको विकास हुँदै गयो ।

सानैदेखि साहित्य पढ्न रूचि भए पनि मलाई लेख्न भने पटक्कै आउँदैनथ्यो । स्कूलदेखि विश्वविद्यालयसम्म पढ्दा कोर्समा पढिएका साहित्यका रचना सँगसँगै विरेचित हुन्थेँ र मनमनै भन्थेँ ‘कस्ता हुँदा होलान् यस्तो लेख्ने मान्छे ? किताबमा नाम भएका मान्छे हामीजस्तै सामान्य या त अर्कैखालका हुन्छन् होला ? कसरी यस्ता गहिरा भाव र चिन्तन् आउन सक्दो होला ? कसरी लेखेको होला यस्तो ?’ जिज्ञासा सदैव हुन्थ्यो । किताबमा नाम हुने वा किताब लेख्ने मान्छे संसारमा सबैभन्दा ठूलो मान्छे हो र त्यो मान्छे हामीभन्दा धेरै फरक हुन्छन् होला जस्तो लाग्थ्यो ।

मधुपर्क, गरिमामा भेटेका, मन परेका कविताहरु डायरीमा सारेर राख्थेँ । कसैकोबाट पढ्न ल्याएको पत्रिकाबाट मन परेका कथाहरुको पाना नै च्यातेर राख्थेँ । कहीँबाट किताब पनि ल्याउथेँ । पत्रपत्रिका पढ्थेँ । साहित्यप्रेम यसरी हुर्किदै गयो मभित्र ।

विश्वविद्यालय जीवनको अन्तिमतिर मैले अकस्मात कलम समाएँ साहित्य लेखनमा । त्यसभन्दा अघि यदाकदा मनमा आएका भावलाई दुईचार लाइन लेखे पनि विधागतरुपमा भने म कच्चा नै थिएँ ।

स्नातकोत्तर तहको विद्यार्थी छँदा एकदिन मैले सपनामा देखेको घटनालाई उठेपछि हुबहु टिपेँ । मलाई कथा हुन्छ जस्तो लाग्यो । तर त्यो कथा रफमै होला कतै अझैसम्म । त्यसलाई पुनर्लेखन गरेको छैन फेरि । त्यो लेखेको मैले मेरो एकजना भाइ अच्युत घिमिरेलाई देखाएँ । हामी क्लासमेट पनि थियौं । उनी पहिलेदेखि नै लेख्थे । उनले वर्णनात्मक कथा हुन्छ मिलाउँदा भने । त्यसपछि म अकस्मात कथा लेख्न थालेँ । मभित्र प्रतिभा स्वतस्फूर्तरूपमा रहेछ । विभिन्न पत्रपत्रिका र पुस्तक अनि जीवन भोगाइबाट त्यो प्रतिभाको व्युत्पति भयो । अनि निरन्तर अभ्यास गर्दै गएँ । त्यसले साहित्यमा दखल बढ्दै गयो र आज मन्दिरा मधुश्री भएँ साहित्यको इतिहासमा ।

पहिलो कथा ‘शहरको कथा’ २०५७ मा मधुपर्कमा छापिएपछि नै साहित्यको इतिहासमा एउटा नाम थपियो मन्दिराको । त्यो पहिलो कथाले नै धेरैलाई मेरो परिचय दिएको थियो । त्यसपछि त्यसै कथाको मेरो ठेगानामा एउटा गजलको किताब आयो । पोखराबाट महाकाव्यकार माधव बियोगीले आफ्नो गजल संग्रह ‘गुम्सिएका भावहरु’ पठाउनु भएको रहेछ । त्यो पढ्दै गएपछि मैले पनि गजल लेख्न सक्छु भन्ने उर्जा आयो र गजल पनि लेख्न सुरु गरेँ । त्यसपछि मैले गजल र कथा दुवै विधालाई समानान्तररूपमा डोहो¥याउँदै लगेँ । साथसाथै गीत पनि लेख्न थालेँ ।

हालसम्म प्रकाशित तपाईंका कृतिहरूमध्ये पाठकले सबैभन्दा रूचाएको कृति कुन हो ? किन पाठकले त्यो कृति रूचाए होलान् ?

मेरा जम्मा दुईवटामात्रै कृति निस्केका छन् अहिलेसम्म । एउटा कथा सङ्ग्रह बुधनको घोडी । अर्को गजल संग्र्रह मधुराग । मेरो कथा संग्रह बुधनको घोडी नै अत्यधिक रुचाए पाठकले । कथामा समाजका भएका, हुने गरेका साना मसिना कुराहरु, व्यक्तिका जीवनजगतका यथार्थता सर्लक्क आउँछन् । त्यसैले कथा धेरैले रुचाउँछन् । मेरो कथा संग्रहमा बुधनको घोडीमा १५ कथाहरु पन्ध्र नै स्वादका छन् । सबै कथाहरूले पाठकको मन छुन सकेको छ । सबैले अत्यन्तै मन पराइदिएका छन् । खासगरी सामाजिक मनोवैज्ञानिक र फ्रायडीयन मनोविज्ञानमा लेखिएका कथाहरु छन् संग्रहमा ।
कथामा प्रयोग भएको मेरो लेखनशैली, मेरो कथामा हुने कौतुहलता र मनोवैज्ञानिकता अनि कथा पढ्दा तान्न सक्ने क्षमता सबैको कारणले नै यो कृति बढी रुचाइएको होजस्तो लाग्छ ।तीमध्ये शीर्षकथा ‘बुधनको घोडी’ नै पाडकको उच्च रोजाइमा प¥यो !

हुन त मधुराग पनि कम नहोला आफ्नो विधामा । तर मधुरागचाहिँ सबै पाठक माझ पुगेकै छैन । मधुराग इटहरीमा २०७६ जेठमा पहिलो संस्करण विमोचन भएको थियो । तर त्यो उतै छिटै सकिएकाले काठमाडौमा किताब आउनै पाएन । अनि फेरि दोश्रो संस्करण माघमा निस्कियो । त्यसैले राम्रोसँग बजारमा न आउँदै फेरि लकडाउन भयो । त्यसैले आमपाठकको हातमा पुन्न पाएकै छैन । त्यसको सही मूल्याङ्कन हुन बाँकी नै छ ।

बुधनको घोडी कथासंग्रहमा घोडी नतुहिएको भए के हुन्थ्यो ? घोडी तुहाएर बुधनप्रति अन्याय गरेजस्तो लाग्दैन तपाईंलाई ?

बुधनको घोडी कथासंग्रहभित्रको शीर्षकथा बुधनको घोडीमा घोडीको गर्भ तुहेको छ । घोडीको गर्भसँगै बुधनको सारा सपना र आशाहरु तुहेका छन् । कथाको पात्र बुधनको उद्देश्य स्वस्थ बछेडा जन्मियोस् भन्ने थियो । बछेडा ठूलो बनाएर बेचेर आएको पैसाले उसका सम्पूर्ण सपनाहरू पूरा हुने थिए । तर अफसोच घोडीको गर्भ तुहियो । निश्चय नै घोडीको गर्भ नतुहेको भए स्वस्थ बछेडा जन्मेको भए दुईचार वर्षभित्रमा उसका सबै सपनाहरू पूरा हुन्थे । बुधनले आफ्नो घर बनाउने थियो । चन्दुलाई बिहे गरेर घरजम गर्ने थियो । उसको जीवनमा नयाँ मोड आउने थियो । घोडी तुहाएर बुधनप्रति अन्याय त भएको नै छ । तर भाग्यले पनि कसरी साथ दिँदैन गरीबहरूलाई ? सपना र रहर पूरा हुन कति गाह्रो हुन्छ । कति लाचार र निरीह हुनुपर्छ गरीबले जीवन बाँच्ने क्रममा ?

खासमा गरीबहरूको निर्विकल्प यथार्थ जीवन संघर्ष देखाउन खोजेको हो मैले । एकातिर बुधनलाई इमान जमानको र चाचाको दण्ड भोग्ने डर छ भने अर्कोतिर गर्भिणी घोडीप्रतिको दायित्वबोध र अगाध माया । तैपनि लाचार छ ऊ टाँगा चलाउन । त्यसैले घोडीको गर्भ तुहिन्छ । तर एकपटकको गर्भ मात्रै तुहेको छ । घोडी मरेको छैन । यसको सकारात्मक सन्देश भनेको जीवनमा आशा जगाउनु हो । आशा जागेपछि मान्छेले फेरि प्रयत्न गर्छ । उखानै छ नि ‘खेप गएर के भो जीवन त गएको छैन नि’ भन्ने । अब बुधन फेरि अर्कोपटक करिश्माको गर्भधारण र स्वस्थ बछेडाको आशामा बाँचेको छ ।

साहित्य लेखनमा नयाँ पुस्ताहरूको उपस्थितिलाई कसरी लिनुभएको छ ? संख्यात्मक र गुणात्मक उपस्थितिप्रति तपाईँ सन्तुष्ट हुनुहुन्छ ?

अहिले नयाँ पुस्तामा साहित्य लेख्नेहरुको थुप्रै उपस्थिति छ । यसरी उपस्थिति हुनु त एकदमै राम्रो कुरा हो । तर गुणस्तरीयतामा पनि अलिक ध्यान दिनुपर्छ भन्छु म । अहिलेका नयाँ पुस्ताका अधिकांशमा अध्ययनको कमी छ । धैर्यता छैन । निरन्तरता छैन । लेख्नेबित्तिकै प्रकाशन गर्ने विभिन्न माध्यमहरु प्रशस्तै छन् । सबैभन्दा सजिलो माध्यम फेसबुक बनेको छ । लेखक आफैं प्रकाशक हुने भएकाले फेसबुकमा प्रकाशित लेखहरुको स्तर मापन गर्न अप्ठ्यारो हुन्छ । अहिले धेरैले लेख्ने कोशिश गर्छन्, गरिरहेका छन् । स्तरीय र टिकाउ लेख्न भने उसले साधना कति गर्छ त्यसमा भर पर्छ ।

नेपाली आख्यानले बेलाबेला तहल्का मच्चाएको सुनिन्छ । लेखिएकै राम्रो हो कि प्रचारबाजी मात्रै हो ?

खासमा साहित्यको चर्चा दुई किसिमबाछ हुनेरैछ । एउटा पद, पैसा, पावर र पत्रकारबाछ रातारात गरिने चर्चा र अर्को पाठकले पढ्दै गएपछि, रुचाउँदै गएपछि आफैँ स्वतस्फूर्तरूपमा हुने चर्चा ।

अहिले पहिलेको अनुपातमा धेरै साक्षरता वा शिक्षित संख्या बढी भएको छ । धेरैले लेख्ने गरेका छन् । दसौंजनाले लेख्दा दुई राम्रो आउँछ भने धेरैले लेख्दा अनुपातमा नै धेरै राम्रो अवश्य आउँछ । र आएको पनि छ । तर कतिको त्यतिकै चर्चा बढी भएको छ । कतिपय राम्रा लेखिएका पनि छन् । तिनीहरु अलिक ओझेलमा परेका पनि छन् । चर्चामा आउनुपर्ने पनि आउन सकेका छैनन् । राम्राका जति हुनुपर्ने हो त्यति चर्चा र प्रचार हुँदैनन् । भएका पनि छैनन् ।

समग्र साहित्यमा देवकोटा र नारी हस्ताक्षरमा पारिजातको हाराहारीमा उभिन सक्ने कोही जन्मिएनन् है नेपालमा ?

हुन त कसैले पनि कसैको ठाउँ लिन सक्दैन । न त सबैको योग्यता र क्षमता नै बराबरको हुन्छ । उनीहरूको हाराहारीमा उभिने मात्रै होइन कोहीकोही उनीहरूभन्दा पनि बढी थिए होलान् र छन् पनि । तर हामीमा देवकोटा र पारिजातलाई मात्र नाम लिने संस्कार बसेको छ । देवकोटा र पारिजातलाई मात्र नाम लिँदा अरुमाथि अन्याय हुन जान्छ । तर अहिले जुनसुकै बिधामा पनि थुप्रै छन् देवकोटाहरू र थुप्रै छन् पारिजातहरु ।

समकालीन साहित्यकारहरुमा नियात्रामा ताना शर्मा र ध.च गोतामे, आधुनिक कवितामा सिद्धिचरण, गोपालप्रसाद रिमाल, काव्यमा लेखनाथ, भूपी र माधव घिमिरे, निबन्धमामा शङ्कर लामिछाने, सम,
कथामा माया ठकुरी र उपन्यासमा पारिजात, बानिरा गिरी अब्बल छन् । यिनीहरूको पनि गर्वले नाउँ लिनुपर्छ अबदेखि ।

तपाईं सफल गजलकार कि कथाकार ?

ओहो ! दुवैमा म सफल हुन सकेको छैन अहिलेसम्म । म दुवै विधाको मात्रै साधक हुँ । अहिले त म दुवै सिक्दैछु । धेरै सिक्नुपर्छ र गर्नुपर्छ सफल हुनलाई त ।

घर गृहस्थीले नेपाली साहित्याकाशका सयौं कलिला मुनाहरू निमोठिदिएको छ भन्ने भनाइप्रति तपाईं कत्तिको सहमत हुनुहुन्छ ?

महिलाहरूको घर गृहस्थीको भूमिका कम महत्वपूर्ण होइन । आफ्नो घर, परिवार, आफन्त, आफ्नोपन सबै त्यागेर अर्को व्यक्ति र संसारमा स्थापित हुन पुग्नुपर्छ विहेपछि । यो जति सजिलो देखिन्छ हेर्दा त्योभित्रको मनोविज्ञान धेरै गम्भीर हुन्छ । सबै साइनो सम्बन्ध र क्रियाकलाप फेरि शून्य या त जिरोबाट सुरूवात हुन्छ महिलाको । त्यसपछि गर्भधारण गर्नु, आमा बन्नु, छोराछोरी हुर्काउनु, गृहिणी बनेर सबै काम गर्नु कुनै उपन्यास वा महाकाव्य लेख्नुभन्दा कम होइन । महिला स्वयम् नै महाकाव्य वा त उपन्यास भएर लेखिइरहेका हुन्छन् स्वयंमा । मात्रै शव्दमा उत्रिएका हुन्नन् । तर महिलाहरूको यो अलिखित साहित्यको मूल्यांकन विरलै हुन्छ ।

घर गृहस्थीपछि पुरुषहरूको त होइन महिला साहित्यकारको चाहिँ साँच्चिकै मुना निमोठिन्छन् नै । उनीहरू त धराशायी नै हुन्छन् करिबकरिब दस वर्षसम्म त । बच्चा हुर्काएर जब तीनचार क्लासमा पढ्ने हुन्छन् अनि फेरि उनीहरूले झण्डै झण्डै जिरोबाट उठ्नुपर्छ । यो बिडम्बना मैले देखेको सुनेको र भोगेको पनि हो । यो दस वर्षको अवधिमा आफूसँगैको समकक्षी पुरुषले भने लामो फड्को मारिसकेको हुन्छ । महिलाहरूका भने लेखेका डायरीसमेत कता पुगिसकेका हुन्छन् । यसरी पनि लेखनमा पछि पर्छन् महिला साहित्यकारहरू । कतिपयले लेख्न नै छोड्नुपर्ने बाध्यता पनि हुन्छ । धेरै थोरै महिला लेखकलाई मात्रै परिवारमा सहयोग र समर्थन हुन्छ । नत्र त्यत्तिकै निमोठिन्छ उनीहरूको प्रतिभा !

यो अन्तर्वार्ता पढिरहेका पाठकलाई नेपाली नारी साहित्यकारका कुनै पाँच पुस्तक पढ्न सल्लाह दिनुप¥यो भने ती पुस्तकहरू कुन–कुन हुन्छन् होला ?

प्रेमा शाहको ‘पहेँलो गुलाफ’, बानिरा गिरीको ‘कारागार’, माया ठकुरीको ‘आमा जानुहोस्’, मोमिलाको ‘आउटसाइडरको बयान’, नीलम कार्कीको ‘योगमाया’ सीमा आभासको ‘म स्त्री अर्थात् आइमाई !’ यीबाहेक अझै अरु पनि थुप्रै सशक्त पुस्तक र नामहरू छन् ।

नवप्रवेशीहरूले यो अन्तर्वार्ता पढिरहँदा तपाईंबाट के सन्देश प्राप्त गर्ने ?

नयाँ साहित्यकारलाई म सन्देशभन्दा पनि सुझाव दिन्छु । अहिले आफ्नो साहित्य पाठकसमक्ष पु¥याउन एकदमै सजिलो छ । लेख्नेबित्तिकै तुरुन्तै धेरै पाठकसमक्ष पुग्छ । फेसबुकमा र अन्य माध्यम पोस्ट गर्न सकिन्छ । आफ्नो रचनाको तुरुन्तै प्रतिक्रिया पाइन्छ । रचना छापिँदैमा र वाह ! आहा ! भन्दैमा आफू ठूलो लेखक भएको गर्व गर्नुहुन्न । यसरी सामाजिक सञ्जालमा आहा र वाह भन्दैमा मात्रै उत्कृष्ट हुँदैन ।

साहित्य सिर्जना गर्नु चानचुने कुरा होइन । साहित्य साधना हो । निरन्तर साधना गरिरहनु पर्छ । धेरैभन्दा धेरै अध्ययन गर्नुपर्छ । निरन्तर लेख्नुपर्छ । छपाउनुपर्छ । खारिँदै जान्छ लेखनीमा । भाषा र शैलीको विकास गर्नुपर्छ । प्रतिस्पर्धामा अब्बल लेख्न सक्नुपर्छ । अबको युगले अबकै पुस्ताबाट पनि देवकोटा र पारिजात पाउन सक्छन् ।

Loading...