मधुमेहका बिरामीले आलु पूर्ण रूपमा छोड्नु पर्दैन

विराटनगर, ९ साउन । मधुमेह रोग लाग्नेबित्तिकै धेरैजसो मानिसहरूले खान नहुने खाद्य वस्तुहरूमध्ये सबैभन्दा पहिला आलु खान छोड्ने गर्छन् ।

आलुमा हुने उच्च कार्बोहाइड्रेटको मात्राका कारणले यसले चिनीको स्तरलाई बढाउन सक्ने हुँदा मधुमेह रोगीहरूले आलु खान छोड्ने गर्छन् ।

कार्बोहाइड्रेटको सेवनपछि शरीरले यसलाई साधारण चिनी (ग्लुकोज) मा परिणत गर्छ । ग्लुकोजका अणुहरू रक्तप्रवाहमा प्रवेश गरेपछि रगतमा चिनीको स्तर बढ्ने हुन्छ ।

स्वस्थ व्यक्तिले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्ने हुँदा ग्लुकोज कोषहरूभित्र प्रवेश गरेर ऊर्जाको रूपमा खपत हुन्छ ।

तर, मधुमेह बिरामीहरूले धेरै इन्सुलिन उत्पादन नगर्ने हुँदा ग्लुकोज अणुहरू कोषमा प्रवेश गर्न र रगतमा रहन असफल हुन्छन् जस कारण रगतमा चिनीको मात्रा बढ्न जान्छ ।

आलुमा स्टार्च हुने भएपनि आलु मधुमेह बिरामीहरूका लागि खराब नहुने हुँदा डाइबिटीजका बिरामीले आलु पूर्ण रूपमा भने छोड्नु पर्दैन ।

आलुको सेवन गर्दा भने डाइबिटीजका बिरामीले दैनिक उनीहरूले पचाउने कार्बको सेवनलाई सीमित गर्नुपर्छ ।

आलुमा पाइने फाइबरले लामो समयको लागि पूर्ण रूपमा पेट भरेको जस्तो महसुस गराउँछन् ।

आलुमा जिंक, म्यागनिज, पोटासियम, फलाम, भिटामिन बी र भिटामिन सी जस्ता पोषक तत्वहरू पनि प्रशस्त हुन्छन् । मधुमेह भएको व्यक्तिले दैनिक २०-५० ग्राम देखि १००–१५० ग्रामसम्म कार्बको मात्रा सेवन गर्न सक्छन् ।

र, यो स्वास्थ्य अवस्था अनुसार फरक हुन्छ । कार्ब सेवन नियन्त्रण गर्नका लागि सँधै उमालेको, ग्रील गरेर सेबन गर्न सकिन्छ । फ्राइ गरेर खाएको आलुमा धेरै कार्ब हुने हुँदा यसलई भुटेर, तारेर खाने गर्नु हुँदैन ।

आलुलाई अन्य फाइबरयुक्त तरकारीहरू जस्तै गेडागुडीसँग मिसाएर पकाउन सकिन्छ ।

यसले पाचन प्रक्रियालाई ढिलो गरेर रगतमा चिनीको स्तर बढ्ने क्रमलाई रोक्ने गर्छ ।

कुनै पनि कुराको सेवन रोक्नुभन्दा पनि खानेकुराको भागलाई नियन्त्रण गरेर खानु नै महत्वपूर्ण हुन्छ । तर, ब्रोकाउली, गाँजर, काउली, खुर्सानी, पालक र अन्य हरियो सागपातहरू तथा टमाटरलाई आलुबाहेक स्वस्थ विकल्पहरूको रुपमा प्रयोग गर्न सकिन्छ । 

Loading...