दीलिप घर गए

विराटनगर, ८ असार । उपचार खर्च जुटेपछि करिब एक महिनादेखि अस्पतालमा बस्दै आएका बुद्धशान्ति गाउँपालिका–२ झापाका दीलिप दर्नाल (विश्वकर्मा) घर गएका छन् ।

दलित अधिकारकर्मीहरुको पहलमा उनको उद्दार गरिएको हो । उनी मन्दिरको छानोबाट लडेपछि नजिकका आफन्तले नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका लागि ल्याएका थिए । उनको उपचारमा आफन्तले सहयोग नगरेपछि अस्पतालमा बस्न बाध्य भएका थिए ।

नोबेल अस्पतालमा उनको उपचार खर्च दुई लाख ३९ हजार पुगेको थियो । उनको उपचार खर्चमा एक लाख बराह ग्रुप धरानले सहयोग गरेपछि बाँकी एक महिनाभित्र तिर्ने सर्तमा घर लगिएको अधिकारकर्मी उमेश विश्वकर्माले जानकारी दिए । अस्पताललाई एक लाख ३९ हजार तिर्न बाँकी रहेको उनले जानकारी दिए ।

दीलिप विपन्न वर्गमा पर्ने भएकाले राज्यको तर्फबाट एक लाख सहुलियत पाउने उनले बताए । नागरिकता नहुँदा दीलिपले त्यो सहुलियत नपाएको अधिकारकर्मी विश्वकर्माले बताए । दीलिपको नागरिकता बनाएर त्यो छुट पनि उपलब्ध गराउने उनले जानकारी दिए ।

Loading...