अस्पताल सुधारको काम सुरु भइसकेको छ : मेसु डा. दास

असार १ गते प्रदेश नं १ स्थित कोशी अस्पतालले नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पायो । डा. संगीता मिश्र परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको निर्देशकमा रुपमा सरुवा भएसँगै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा. चुमनलाल दास कोशी अस्पतालमा सरुवा भएर आए ।


मोरङकै स्थानीय बासिन्दा दासले २०४३ सालमा अहेव हुँदै स्वास्थ्य क्षेत्रमा प्रवेश गरेका थिए । सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाटै आफ्नो स्वास्थ्य क्षेत्रको यात्रा सुरु गरेका दासले सोही अस्पतालमा मेसु पदमा रहेर काम गरिसकेका छन् । रेफरल सेन्टरजस्तै बनेको अस्पताललाई सुविधासम्पन्न बनाउन सफल दासको काँधमा यतिबेला स्वास्थ्य मन्त्रालयले नेपालकै पुरानोमध्येको एक अस्पतालको जिम्मेवारी थमाइदिएको छ ।


कोशी अस्पतालका मेसुका रुपमा दासको साउन १ गते एक महिने कार्यकाल पूरा भएको छ ।
अस्पतालका मुख्य चुनौती, समस्या र आगामी योजनाबारे मेसु चुमनलाल दाससँग कोशी अनलाइनले गरेको कुराकानी ः


कोशी अस्पतालका मेसु डा.संगीता मिश्रले प्रभावकारी भूमिका निर्वाह गरिरहनु भएको चर्चा भइरहेको बेलामा तपाई नयाँ मेसुको रुपमा अस्पताल सम्हाल्न आइपुग्नु भयो, कत्तिको दबाब महसुस गरिरहनु भएको थियो ?

महामारीका बीच डा. मिश्रले जुन तरिकाले नेतृत्व गरिरहनु भएको थियो, त्यो एकदमै सराहनीय थियो । तर, हाम्रो सरुवा एकाएक रातरात भएको थिएन । सरुवाबारे हामी दुवैलाई चार महिनाअघि नै जानकारी भइसकेको थियो । सरुवा हुनअघिसम्म म आफैं पनि राजविराजस्थित अस्पतालको मेसु पदमा कार्यरत थिएँ, त्यसैले खासै दबाब महसुस भइरहेको थिएन । मैले यहाँको अवस्थाको बारेमा सूचना लिइरहेको थिएँ यसले दबाब कम, सजिलो बढी भयो ।

जहाँसम्म डा. मिश्रको चर्चाको विषय छ, त्यसले मलाई खासै प्रभाव पारेको छैन र भविष्यमा पनि पार्ने छैन । किनकि डा. मिश्र मेरो प्रतिस्पर्धी होइन । हामी दुवैजना मन्त्रालयले खटाएको स्थान र पदमा रहेर स्वास्थ्य क्षेत्र सम्हाल्ने, नेतृत्व गर्ने राष्ट्रसेवक कर्मचारी हौं ।

कोशी अस्पतालको मेसुले गर्नुपर्ने कामको ग्राफ डा. मिश्रले अग्लो बनाउनु भएको पक्का हो, त्यसमा कसैको दुईमत छैन । म त्यहीँ ग्राफको उचाइ अझै अग्लो बनाउने प्रयासमा सधैं रहनेछु ।

अस्पताल सम्हाल्नु भएको एक महिना पूरा भयो, कार्यरत चिकित्सक एवम् अन्य कर्मचारीबाट कस्तो साथ, प्रतिक्रिया पाइरहनु भएको छ ?

सबैजना एकदमै सहयोगी हुनुहुन्छ । म नयाँ मेसु भन्ने महसुस हुन दिनु भएको छैन । चिकित्सक एवम् कर्मचारी सबैले पहिलो दिनबाट नै समन्वय गरिरहनु भएको छ । कोभिड व्यवस्थापनमा पनि सबैले महत्वपूर्ण योगदान दिइरहनु भएको छ । अस्पताल व्यवस्थापन र सुधारका लागि मैले केही योजना प्रस्तुत गरेको छु, त्यसमा पनि वहाँहरुले सकारात्मक प्रतिक्रिया दिइरहनु भएको छ ।

सुधारका बारेमा कुरा उठाउनुभयो, अस्पतालका मुख्य चुनौती र समस्याहरु के–के रहेछन् ?

कोशी अस्पतालले कोभिड–१९ संक्रमितहरुको व्यवस्थापनको जिम्मेवारी पनि पाएकाले अहिले अस्पतालका सबै विषयमा मैले विस्तृत अध्ययन गर्ने मौका पाइसकेको छैन । तर पनि मेरो एक महिनाभरिको निरीक्षण र अध्ययनमा चार मुख्य समस्या देखिएका छन् । पहिलो अस्पतालका पुराना जीर्ण भवन, दोस्रो ढल, पानीको निकास, तेस्रो अस्पताल परिसरभित्र हुने फोहोरमैलो र चौथो दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सक अभाव ।

अस्पतालमा देखिएका यी समस्याहरुका व्यवस्थापन र समाधान गर्न सुरु गरिसक्नु भयो त ?

अस्पताल प्रशासनले सुधार, व्यवस्थापन र समाधान गर्न सक्ने विषयमा काम सुरु भइसकेको छ ।

के–के सुधार भए, के भएका छैनन्, विस्तृतरुपमा बताइदिनुस् न ?

यसलाई यसरी बुझौं । वर्षाैदेखि अस्पतालले भोग्दै आइरहेको ढल, पानी निकासको जुन समस्या छ, त्यसलाई पूर्ण तरिकाले समाधान गर्न सकिएको छैन तर ढल, पानी बग्ने नालाहरुलाई सफा गरेका छौं । यसले विगतमा भन्दा अस्पताल र सेवाग्राहीलाई केही राहत पक्कै मिल्छ ।

फोहोरमैला व्यवस्थापनको सम्बन्धमा कुरा गर्ने हो भने, अस्पतालभित्र जथाभावी फालिने फोहोरमैलालाई नियन्त्रण गर्ने गरी व्यवस्था गरिएको छ । निश्चित फोहोर फाल्ने स्थानभन्दा यत्रतत्र छरेर नफाल्न हामीले सर्वसाधारणलाई सम्झाइरहेका छौं । पान, गुटखा, सूर्ति खाएर जथाभावी थुक्न प्रतिबन्ध गरिएको छ । अस्पतालको प्रवेशद्वारबाट नै यसलाई कडाइँका साथ लागू गरेका छौं ।

सर्वसाधारणको सूचनाका लागि पोस्टर, पम्प्लेटहरु विभिन्न स्थानमा टाँसेका छौं । यदि कोही पान, गुटखा चपाउँदै आइहाले अस्पताल प्रशासनले उसलाई मुख सफा गर्न लगाएर मात्र प्रवेश गर्न दिन अनिवार्य गरेको छ ।

अस्पताल सुधारकै कुरा गर्दा, अस्पतालभित्र थुप्रिएका फोहोरमैला व्यवस्थापन गर्न, गुट्खा, पानले रंगिएका भित्ता सफा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

दरबन्दीअनुसार विशेषज्ञ चिकित्सकको पदपूर्ति र अस्पतालका जीर्ण भवनबारे चाहिँ के भइरहेको छ ?
दरबन्दीअनुसारका विशेषज्ञ चिकित्सकको अभावको जुन समस्या छ, त्यसको समाधान गर्न मैले गर्नु पर्ने पहल सबै गरिरहेको छु । चिकित्सकको पदपूर्ति गर्न लोकसेवा आयोगले परीक्षा लिनुपर्छ जुन अहिलेको अवस्थामा सम्भव छैन । यस्तै, समायोजनपछि केही पद रिक्त रहेका छन्, त्यसको स्थानमा कोशी अस्पतालमा उपस्थित हुनु पर्ने चिकित्सकहरु लकडाउनका कारण अस्पतालमा उपस्थित हुन सक्नु भएको छैन ।

संघीय सरकारकै मातहतमा अस्पताल सञ्चालन भइरहेकाले मन्त्रालयबाट निर्णय नगरी रिक्त रहेका पदमा पदपूर्ति गर्न मिल्दैन त्यसको लागि मैले मन्त्रालयमा जानकारी गराइसकेको छु ।

अब रह्यो अस्पतालका पूराना जीर्ण भवनसम्बन्धी समस्या । अस्पतालका भवनहरु धेरै अघि बनेका हुन् जुन अहिलेको अवस्था अनुकुल छैनन् । अस्पतालका तीन भवन, ओपीडी, मेडिकल वार्ड र अर्थाे विभागबाहेकका अन्य सबै भवन पूराना छन्, चुहिन्छन् । अस्पतालको झ्याल, ढोका, शौचालय, ढल निकासीदेखि कोठाको व्यवस्थापनसम्मको समस्या छ ।

यसका लागि अस्पताल भवनको दिगो समाधान चाहिन्छ । कस्तो, कुन डिजाइनको, कुन स्थानमा, कतिवटा भवन निर्माण गर्ने भन्ने विषयमा छलफल हुन बाँकी छ । तर, अब निर्माण हुने भवन वर्तमान र भविष्य दुवै कालखण्डका लागि सुहाउँदिलो बन्नेछ ।

अस्पतालमा आईसीयू, सर्जिकल र न्यूरो तथा नेफरोलोजी सेवा प्रदान गर्न नयाँ भवन निर्माण गर्न संघीय सरकारबाट विनियोजत ४० करोड बजेटले अहिले के भइरहेको छ ?

संघीय सरकारबाट विनियोजित बजेटबाट निर्माण गरिने नयाँ भवनको डिजाइन भइसकेको छ । केही परिमार्जन गर्नुपर्ने भएकाले त्यसलाई फेरि पठाइएको छ । भवन निर्माणका लागि लागत अनुमान पनि भइसकेको छ । बाँकी रहेका आवश्यक प्रक्रिया पूरा हुन साथ निर्माण कार्य सुरु हुनेछ ।

लकडाउन खुकुलो भएसँगै अस्पतालमा आउने सर्वसाधारणको संख्या पनि बढिरहेको छ, अस्पताल प्रशासनले भीड व्यवस्थापन गर्न र आवश्यक सामाजिक दूरीको नियम पालना गराउन के गरिरहेको छ ?

पहिलेको तुलनामा हाल अस्पताल आउने मानिसहरुको संख्या दोब्बर छ । अस्पतालको पछिल्लो केही दिनको तथ्यांक हेर्ने हो भने दैनिक पाँच सयदेखि छ सयसम्म मानिसहरु आइरहनु भएको छ । धेरै मानिस आउने भएपछि भीड हुने त भइहाल्यो । कोभिड संक्रमण रहिरहेको अवस्थामा हामीले आवश्यकता सुरक्षा अपनाउँदै अस्पताल आउने हरेक मानिसलाई मास्क अनिवार्य गरेका छौं । मास्क नलगाई अस्पताल प्रवेशमा प्रतिबन्ध लगाउन अस्पताल प्रशासनले कडिकडाउ गरेको छ । यसबाहेक, ओपीडी, टिकट काउन्टरमा गोलो घेरासहितको स्टिकर लगाउने काम भइरहेको छ ।

तपाईं अनुभवी हुनुहुन्छ , राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताललाई सुधार गरेर सफल हुनु भएको मेसु पनि हुनुहुन्छ । कोशी अस्पतालमा पनि समस्या धेरै छन् । यसका समाधान, व्यवस्थापन गर्न आगामी योजना, रणनीति कस्तो बनाउँदै हुनुहुन्छ ?

म झटपट, हतारमा विकास गर्ने प्रवृत्तिको मानिसमा पर्दिनँ । व्यवस्थित, वैज्ञानिक र दिगो विकास मेरो प्राथमिकतामा पर्छ । म पहिला अध्ययन गर्छु, अनिमात्र कार्यक्रम, योजना र निर्णय गर्ने गर्छु । कोशी अस्पताल सुधारका लागि दीर्घकालीन योजनाको आवश्यकता छ । अस्पतालमा हाजिर भएदेखि नै कोभिड व्यवस्थापनलगायतका अन्य विषयमा व्यस्त रहेकाले मैले अस्पतालको समग्र विषयप्रति अध्ययन गर्न पाएको छैन । परिस्थिति केही सहज हुँदै गएको छ, अब अध्ययन सुरु गर्ने तयारीमा छु ।

संघीय सरकारले कोशी अस्पताललाई ‘सुपरस्पेशियलाइज्ड’ अस्पतालमा रुपान्तरण गर्ने योजना बनाएको मैले जानकारी पाएको छु । त्यसमा मैले दिनुपर्ने सुझाव, राय र गर्नुपर्ने योगदान पक्का गर्नेछु ।

स्थिति अनुकुल हुनासाथ अस्पतालको दिगो विकास, समस्या समाधान र चुस्त व्यवस्थापनको पाटोमा लाग्नेछु । हालका लागि अस्पताल प्रशासनले भ्याएसम्म, सक्ने जति समस्या समाधान र व्यवस्थापन मेरो प्राथमिकतामा रहेको छ ।

प्रस्तुति : शिवहाङ राई

Loading...