‘पत्रकारिता मेरो पेशा, साहित्य पहिचान’

युवा पुस्ताका साहित्यकर्मीहरु बीचमा एउटा ऊर्जाशील व्यक्तित्व हुनुहुन्छ मीनकुमार नवोदित । गंगाबहादुर श्रेष्ठ र धनमाया श्रेष्ठको सन्तानको रुपमा २०३८ भदौ १७ खोटाङ, बतासे–७, रात्माटामा जन्मनुभएका नवोदित पत्नी वन्दना र दुई सन्तानको साथमा हाल विराटनगर–१२,
पशुपतिटोलमा बस्नुहुन्छ ।

२०५२ देखि निरन्तर कविता लेखनमा सक्रिय नवोदित २०५७ देखि पत्रकारिता गरिरहनुभएको छ । नानी बालपत्रिकाको पूर्वाञ्चल संयोजक, दर्शन दैनिक, विराटपथ दैनिक, न्यू सृष्टि दैनिकमा काम कारोबार दैनिकको प्रदेश–१ संयोजक, मकालु टेलिभिजनको सहसम्पादक र विएफएममा कार्यक्रम प्रस्तोता भएर काम गरिसक्नुभएका नवोदितका फूलबारीभित्रका भमराहरू(कवितासङ्ग्रह–२०५७) झरीले रुझेको गाउँ कवितासङ्ग्रह–२०७०) प्रकाशित छन् ।

राष्ट्रिय युवा कविता महोत्सवमा प्रथम भएदेखि लिएर युवा साहित्य पुरस्कार, युवा साहित्य सम्मान, उत्कृष्ट युवा अवार्ड, भानु पदक, डा. नरेन्द्र चापागाईं स्मृति युवा साहित्य पुरस्कार आदि गरि साहित्यतर्फ उहाँले दर्जन बढी पुरस्कार तथा सम्मानहरु प्राप्त गरिसक्नुभएको छ ।

पत्रकारितातर्फ पनि उहाँले युवा पत्रकारिता पुरस्कार, सक्रिय पत्रकारिता पुरस्कार, सहकारी पत्रकारिता पुरस्कार, न्यू सृष्टि पत्रकारिता पुरस्कार, लायन्स पत्रकारिता पुरस्कार, उत्कृष्ट समाचार लेखन पुरस्कार, नगर विकास पत्रकारिता पुरस्कार, रोटरी पत्रकारिता अवार्ड, सक्रिय पत्रकारिता सम्मान, युवा पत्रकारिता सम्मान, कृष्ण सिग्देल स्मृति पत्रकारिता पुरस्कार, जेसीज पत्रकारिता–साहित्य सम्मान, शिशु सेवा पत्रकारिता पुरस्कालगायत झण्डै २ दर्जन पुरस्कर तथा सम्मान प्राप्त गर्नुभएका नवोदितसँग कोशी अनलाइनका लागि रामप्रसाद पौडेलले गर्नुभएको छोटो कुराकानीः

तपाईको साहित्य लेखनको सुरूवात कसरी सुरु भयो ?

रेडियो नेपालमा ‘को भन्दा को कम’ भन्ने बाल कार्यक्रम आउँथ्यो । त्यो कार्यक्रममा मैले पनि कविता पठाएको थिएँ । मेरो कविता प्रथम भयो । यो २०५२ सालको कुरा हो । कार्यक्रममार्फत पुरस्कृत भएको खबर सुन्दा खुसीको सीमा रहेन । रेडियो नेपालको यही कार्यक्रमका कारणले मेरो साहित्य लेखन सुरु भएको मान्छु म । यस आधारले मेरो साहित्य लेखन २०५२ सालदेखि सुरु भएको हो । पत्रपत्रिकामा भने २०५६ सालदेखि प्रकाशित हुन थालेको हो ।

साहित्यमा संगत वा माहोलले कत्तिको प्रभाव पार्छ ? तपाईंलाई कसको संगतले सबैभन्दा धेरै साहित्यिक बनायो ?

हरेक क्षेत्रमा संगतले ठूलो प्रभाव पार्छ भन्ने लाग्छ मलाई । मेरो साहित्य लेखनमा पनि संगतको ठूलो हात छ । मैले खोटाङको चिसापानी माविबाट २०५५ सालमा एसएलसी उत्तीर्ण गरेको हुँ । मेरो घरदेखि स्कुल टाढा भएकाले कक्षा ८ देखि दिदीभिनाजुको घरमा बसेर पढें ।

भिनाजु साहित्यप्रेमी हुनुुहुन्थ्यो । उहाँको घरमै पुस्तकालय थियो । पाठ्यक्रमबाहेक पुस्तकालयका साहित्यिक कृतिहरू पढें । त्यसले पनि मलाई साहित्य लेखनमा ऊर्जा प्राप्त भयो । विद्यालयमा पनि बेलाबेलामा कविता प्रतियोगिता हुन्थ्यो । म पुरस्कृत भइरहन्थें । एसएलसीपछि म उच्च अध्ययनका लागि विराटनगर आएँ । विराटनगर आएपछि त साहित्यिक संगत एकाएक बढ्यो ।

वाणी प्रकाशनमा आबद्ध भएपछि त वरिष्ठ आख्यानकार परशु प्रधान, वरिष्ठ कवि कृष्णभूषण बल, विवश पोखरल, कल्पना प्रधान, नारायण तिवारी, गंगा सुवेदी, देवी पन्थी, सुशीला कोइराला भण्डारीलगायत थुप्रै अग्रजहरूको मार्गनिर्देशन प्राप्त भयो । समकालिन साथीहरूको साथ सहयोग पनि प्राप्त भयो । संगतले साहित्य लेखनमा निकै प्रभाव पर्छ । वाणी प्रकाशनलाई म मेरो साहित्यिक विद्यालय मान्छु । यदि वाणी प्रकाशनको सम्पर्कमा नपुगेको भए साहित्य लेखनले निरन्तरता पाउने थिएन होला सायद ।

त्यसोभए मीनकुमार नवोदित अहिलेको नवोदित हुन वाणी प्रकाशन लगायतका विभिन्न संस्था र व्यक्तित्वको हात छ भन्दा अन्यथा हुँदैन होइन त ?

अवश्य, अग्रजहरुको मार्गदर्शन, समकालीनहरुको सद्भाव र अनुजहरुको मायाले नै मलाई निरन्तर अघि बढ्न सहायता पुगिरहेको छ ।

तपाईं पत्रकार कि साहित्यकार ? कुन क्षेत्रमा बढी सफल छु जस्तो लाग्छ ?

बडो अप्ठ्यारो प्रश्न गर्नुभयो । हुन त यो प्रश्न मलाई धेरैले गर्नुहुन्छ । तर, म आफू पत्रकार र साहित्यकार दुवैबाट चिनिन चाहन्छु । बाँच्नका लागि पत्रकारिता पेशालाई अँगालेको छु । साहित्य भनेको पहिचान हो । यो क्षेत्र पूर्व हुँदैन । तर, साहित्यबाहेकका जुनसुकै क्षेत्र पनि पूर्व हुन्छन् । चाहे प्रधानमन्त्री नै किन नहोस् कुर्सीबाट हटेको दिनबाटै पूर्व हुन्छ ।

साहित्य भनेको कहिल्यै पनि पूर्व हुँदैन । एक–दुईवटा राम्रा कृति प्रकाशित भएपछि समाजमा ऊ साहित्यकारका रुपमा परिचित हुन्छ । मलाई लाग्छ साहित्य र पत्रकारिता दुवैलाई मैले न्याय गरेको छु जस्तो लाग्छ । जहाँसम्म सफल र असफलको प्रश्न छ । दुवै क्षेत्रमा म विद्यार्थी हुँ जस्तो लाग्छ । व्यक्तिगत रुपमा भन्नुपर्दा अहिले नै सफलता र असफलताको मापन गर्ने अवस्थामा पुगेको छुइनँ ।

पत्रकारिता र साहित्य अलग विधा हो । यी दुवै विधामा समान रूपले सक्रिय हुन के कुराले मद्दत पुर्याइरहेको छ तपाईंलाई ?

पत्रकारितालाई हतारको साहित्य पनि भनिन्छ । कतिपय समाचार नबन्ने विषय पनि हुन्छन् । त्यस्ता विषयलाई साहित्यमा अटाउने गरेको छु । साहित्यको पनि विशेष सबैभन्दा मन पर्ने विधा कविता हो । मैले आफूलाई कवितामै समर्पित गरेको छु । पत्रकारिता गर्ने क्रममा धेरै क्षेत्रसित नजिक भएर काम गर्नुपर्ने हुन्छ । यसरी काम गर्दा समाजलाई नजिकबाट छाम्ने र बुझ्ने अवसर प्राप्त हुन्छ । पत्रकारिता र साहित्य एकले अर्कोलाई केही न केही मद्दत पु¥याइरहेको हुन्छ । दुवै क्षेत्रमा लाग्दा कहिलेकाहीं पत्रकारिताले साहित्यलाई थिच्ने हो कि भन्ने आफैंलाई डर लाग्छ । तर, यसमा म सजग छु ।

नयाँ पुस्ताकाहरू साहित्यमा किन आउने ? उनीहरूका लागि सम्भावना र चुनौतीहरू के–के छन् ?

पछिल्लो समय साहित्यमा नयाँ पुस्ता एकदमै कम आइरहेको छ । प्रविधिले गर्दा मानिसको सिर्जना शक्ति क्षीण बन्दै गएको छ । अध्ययन र लेखनमा भन्दा मानिस सामाजिक सञ्जालमा बढी व्यस्त भएको पाइन्छ । यसले गर्दा पनि नयाँ पुस्तालाई साहित्यप्रतिको रुची र आकर्षण घटाएको छ । नयाँ पुस्ताका लागि त चुनौतीभन्दा अवसर धेरै छन् । हिजोजस्तो रचना प्रकाशित गर्न वर्षौं कुर्नुपर्ने अवस्था छैन । हिजो मधुपर्कमा कविता प्रकाशित गर्न एक–दुई वर्ष कुर्नुपथ्र्यो । तर, अहिले त्यस्तो अवस्था छैन । अहिले त आफैं सम्पादक, आफैं प्रकाशक भएको सामाजिक सञ्जाल फेसबुक छ हामीसित । लेखेर फेसबुकमा पोष्ट गरिदियो भने पत्रपत्रिकामा छाप्नै परेन । यसले गर्दा नयाँ पुस्तालाई सहज भएको छ पाठकसम्म पुग्न ।

पाठकको वाहवाहले साहित्यकारलाई सपार्छ कि बिगार्छ ? लेखकका निम्ति पुरस्कार अनिवार्य शर्त नै हो त ?

वाहवाहले साहित्यकारलाई अगाडि बढ्न हौसला प्राप्त हुन्छ । तर, पाठकको वाहवाहमा लागेर साहित्यकार फुर्कियो भने त्यो अगाडि बढ्न सक्दैन । यसरी प्राप्त हुने वाहवाहले म त ठूलो साहित्यकार, चर्चित साहित्यकार भन्ने भावना जब मनमा पलाउँछ भने त्यसको अद्योगति सुरु भयो ।

वाहवाहको पछि लाग्नुहुँदैन एउटा जिम्मेवार साहित्यकारले । अरुले भन्दा पनि आफ्नो स्तर आफैंले मापन गर्ने हो । तपाईंको जुन दोस्रो प्रश्न छ लेखकका लागि पुरस्कार अनिवार्य शर्त हो त ? म भन्छु होइन । जीवनभर पुरस्कार नै नपाउने साहित्यकार पनि छन् थुपै्र हाम्रै वरिपरि । के ऊ साहित्यकार भएन त त्यसो भए ? साहित्यमै जीवन बिताएका थुप्रै सर्जकले पुरस्कार र मानसम्मान नपाएको अवस्था पनि छ । तर, पुरस्कारले लेखक साहित्यकारलाई ऊर्जा भर्ने काम भने गर्छ ।

अवसर, पुरस्कार र सम्मान साटासाट हुन्छ, यी कुराहरूमा नातावाद चल्छ भन्ने चर्चा सुनिन्छ, याे साचाे हाे ?

मैले पनि सुन्दै आएको छु तपाईंले भनेजस्तै । केही संघसंस्था र व्यक्तिले त्यसो गर्लान् । तर सबैलाई एउटै डालोमा हालेर हेर्नु हुँदैन । म पनि केही संस्थामा आवद्ध छु । हाम्रो संस्थाले अहिलेसम्म पुरस्कार र सम्मान साट्ने काम गरेको छैन ।

त्यसरी साटेको भए त मैले पनि पाउनुपर्ने हो । मैले मात्रै होइन हाम्रो संस्थामा आवद्ध व्यक्तिले आफूले पुरस्कार दिएको संस्था र व्यक्तिबाट अहिलेसम्म कुनै पुरस्कार पाएको छैन । तर, विडम्बना नै मान्नुपर्छ हाम्रो समाजमा एउटा पत्रकार, एउटा कर्मचारी, एउटा पुलिस, एउटा व्यापारी खराब भयो भने सबैलाई एउटै नजरले हेर्ने गरिएको छ ।

नयाँ पुस्ताका लेखकहरूको कुनै पाँच पुस्तक पढ्न सल्लाह दिनुप¥यो भने ती पुस्तकहरू कुन–कुन हुन्छन् होला ?

नेपाली साहित्यमा धेरै स्तरीय र पढ्नै पर्ने कृतिहरू छन् । मैले कुनै पाँच पुस्तक मात्रै पढ्न सल्लाह दिनु भनेको अन्य स्तरीय पुस्तकप्रति अन्याय गर्नु हो । नेपाली साहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन भने हामीले अझै सकेका छैनौं । धेरै स्तरीय कृतिहरू नेपाली साहित्यमा प्रकाशित भएका छन् । स्तरीय भएर पनि कतिपय पुस्तकको चर्चा कम भएको पाइन्छ । आफ्नो रुचीअनुसारका स्तरीय पुस्तक पढ्न सबैलाई सल्लाह दिन्छु ।

साहित्यकै कारणले जीवनमा पाएको ठूलो उपलब्धि र गुमाएको महत्वपूर्ण कुरा सम्झनुपर्दा के–के सम्झनुहुन्छ ?

साहित्यमा लागेर मैले थुप्रै चिज पाएको छु । यदि साहित्यमा नलागेको भए अहिले यसरी तपाईंले मेरो यो अन्तरवार्ता लिइरहनु भएको हुन्थेन । यो पनि मेरा लागि ठूलो उपलब्धि नै हो । विभिन्न संघसंस्थाबाट पुरस्कार र सम्मान पाएको छु ।

नेपाल जेसीजले राष्ट्रिय युवा सम्मानबाट सम्मानित गरेको छ । तपाईंहरू जस्ता शुभचिन्तकहरूले साहित्यकार भनेर चिन्नुभएको छ । साहित्यमै लागेर केही गुमाएको वा पछुताउनु परेको छैन । भौतिक सम्पत्तिलाई मात्रै उपलब्धि मान्दिन म ।

Loading...