नेकपा नेतालाई खुलापत्र : लयबिनाको बाँसुरी कहिलेसम्म सुनिरहने ?

तारा पराजुली

आदरणीय कमरेडहरु, तपाईंहरु मिल्नुस् । मात्र मिलिदिनुहोस् । काम गर्ने त हामी छँदै छौ नि । दैनिक १५–१६ घन्टा जनताको काममा नियमित खटिंइरहँदासमेत नथाकेका हामी तपाईंहरुको आत्मकेन्द्रीत र मनोवादी व्यवहारका कारण थाक्न थालेका छौँ।

हामीले अझै गर्नैपर्ने कामहरुको फेहरिस्त निकै लामो र फराकिलो छ। धेरै पर नजाऔँ एक आर्थिक वर्षको अंकगणितले हामीलाई धेरै कुरा सोच्न पर्याप्त स्पेस दिईहाल्छ ।

तपाईंहरुले पनि भोग्नु भयो, असारसुरु भएदेखि नै बाढीपहिरोले बितण्डा सुरु गर्यो । असोज महिनासम्म अन्य काम सँगसँगै राहत वितरणमै बित्यो।

मंसिरपछि चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बन्यो । कमजोर आर्थिक हैसियत भएका नागरिकहरुको लागि दशा बन्यो यो हिउँद । विकास निर्माणका कामसँगै नागरिकहरुको सहारा बन्दै शीतलहरसँग जुध्दै गर्दा कोरोना जस्तो जटिल भाइरसले आतङ्कित बनायो । कोरोनाको कठोर प्रहार झेल्न हामीलाई हम्नेहम्मे परेको छ ।

यो समय हामी एक ढिक्का भएर सकंटसँग जुध्ने कि कलह हुर्काउने ? मैले बुझेको कुरा यति हो, यसबेला विश्व नै कसरी आफ्ना नागरिक बचाउने भन्ने निष्कर्षमा अडिएको छ ।

यसबेला जनताको आँगनको सरकार स्थानीय सरकारको प्रतिनिधिको नाताले हामी अत्यन्तै संवेदनशील भएर खटिरहेका छौ । कतै विकास निर्माणका काममा त कतै संकट समाधानको लागि अग्रपंक्तिमा ।

हामी भने दैनिक जसो १५–१६ घण्टा जनताको काममा तल्लीन भइरहेकै बेला तपाईंहरुको यस प्रकारको बेमौसमी मादलले कस्तो ताल दिइरहेको छ? यो बेधुन र लयबिनाको बाँसुरी कहिलेसम्म सुनिरहने ? यो कलहले कस्तो संज्ञा देला?

साउने झरिले हाम्रा कच्ची बाटोहरु हिलाम्मे छन् । हामीले टालटुल गरेर हिंड्न सक्ने बनाएका छौँ । यो संवेदनशील समय तपाईंहरु सडकभरि पोखिएर झन धेरै हिलो र प्रदुषण बढाइरहनु भएको छ ।

कमरेडहरु ! एउटै छानों ओडेर बसेको बेला हामीलाई पोल्ने आगोले तपाईंलाई चाहिँ शीतल दिन्छ र ? हामीलाई भिजाउने झरिले तपाईंलाई चाहिँ ओभानो राख्छ र ? अझै समय छ विवेकको प्रयोग गरौं ।

संसारमा प्रतिष्ठा भन्ने चिज परिवार, कुल बंशसँग जोडिएकै कारण परिवारको एक सदस्यले मात्रै गलत गरे सिंगो परिवारको शीर झुक्छ ।

अझ तपाईंहरु शीर्षस्थ व्यक्तिहरुका कारण लाखौँ कार्यकर्ता करोडौं शुभेच्छुक शुभचिन्तकहरुको पार्टीप्रतिको प्रेम रआत्मविश्वास नटुटोस् ।

फेरि पनि निवेदन छ, काम हामी गर्छौँ तपाईंहरु नकाम नगरिदिनुहोस् । देश रहे मात्र पार्टी रहन्छ ।

स्वाभिमान बाँचे पद योग्यकै कोटमा जाने हो । यो संकटको जटिल घडीमा सम्पूर्ण स्वार्थहरु भुलेर संकट समाधान र राष्ट्रिय स्वाभिमानको लागि जुट्ने समय पदीय दौडमा लाग्नुले उल्टो यात्राको सङ्केत गरिरहेको छ ।

मेरो प्रश्न फेरि पनि, हामीलाई घरीघरी दुखाउँने कुरुप घाउले तपाईंलाई भने कस्तो शान्तिको महशुस भएको छ ? काम हामी गर्छौँ तपाईंहरु नकाम नगरिदिनुहोस् । देश नै सर्वोच्च र सर्वमान्य हो । देश रहे मात्र पार्टी रहन्छ। फेरि पनि अनुरोध, काम हामी गर्छौँ तपाईंहरु नकाम नगरिदिनुहोस् ।

पराजुली बेलबारी नगरपालिकाकी उपमेयर हुन्

Loading...