माछापुच्छ्रेमा पहिरो : एकै परिवारका तीन बालबालिकाको मृत्यु

कास्की, २ साउन । माछापुच्छ्रे गाउँपालिकामा शुक्रबार बिहान खसेको पहिरोमा परी एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

माछापुछ्रे– ८ को खोराकोमुखस्थित पाखा भन्ने ठाउँमा स्थानीय प्रेमराज विकको घर बिहान अन्दाजी ५ः४५ बजेको समयमा पहिरोले बगाउँदा उनका दुई जना नाती १६ वर्षीय कुशल र १४ वर्षीय समीर तथा १६ वर्षीया नातिनी रेजिना विकको मृत्यु भएको सोही वडाका वडाध्यक्ष कृष्णप्रसाद दवाडीले जानकारी दिए ।

सुरक्षाकर्मी तथा स्थानीयवासीले पहिरोमा पुरिएका तीनै जनाको शव बाहिर निकालेका थिए । घरको २०० मिटर माथिबाट झरेको पहिरोले घर बगाएको हो ।

ढुङ्गा माटोले बनेको कच्ची घरको तीन वटा कोठा पहिराले बगाएको वडाध्यक्ष दवाडीले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गर्दैै प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल तथा प्रहरी प्रमुख जीवनराम श्रेष्ठसहितको टोली घटनास्थलमा पुगिसकेको जानकारी दिए ।

Loading...