एजेन्सी, २ साउन । इन्टर मिलान सिरी ‘ए’को दोस्रो स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा एसपीएएलमाथि ४–० गोलको शानदार जित निकाल्दै इन्टर दोस्रो स्थानमा उक्लिएको हो ।

एसपीएएलको मैदानमा भएको खेलमा इन्टरलाई जिताउन एन्टोनियो कान्ड्रेभा, क्रिस्टियानो बिराघी, एलेक्सिस सान्जेज र रोबर्टो गाग्लिआर्डीनीले समान एक–एक गोल गरे ।
इन्टरले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा तीन गोल थपेको थियो ।
जितसँगै इन्टरले युभेन्टससँगको दूरी छ अंकमा झारेको छ । शीर्ष स्थानको युभेन्टससँग ७७ अंक छ भने दोस्रो स्थानको इन्टरसँग ७१ अंक छ ।
पराजित एसपीएएल भने १९ अंकसहित लिगको पुछारमा छ ।