अश्लिल भिडियो बनाएर ‘ब्लाकमेलिङ’, पूर्व प्रहरीसहित दुईजना पक्राउ

विराटनगर, १ साउन । जवरजस्ती करणीको भिडियो बनाएर ‘ब्लाकमेलिङ’ गरेको आरोपमा मोरङ प्रहरीले पूर्व प्रहरीसहित दुईजनालाई पक्राउ गरेको छ ।

विराटनगरकी एक युवतीले जवरजस्ती करणी गरी भिडियो बनाएर ‘ब्लाकमेलिङ’ गरेको जाहेरी दिएपछि प्रहरीले विराटनगर महानगरपालिका–१२ बखरी घर भएका पूर्व सई (प्रहरी नायव निरिक्षक) नयन श्रेष्ठ र उनको नाताले भाई पर्ने ४० वर्षिय ज्योति श्रेष्ठलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले दुईजनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको बताए ।

श्रेष्ठ काडमाडौं सेक्युरिटी कम्पनीका सञ्चालक हुन् । ३ फागुन २०७६ मा साझ करिब ६ बजे सेक्युरिटी कम्पनीको विराटनगर ३ स्थीत कार्यालयमा बोलाएर जवरजस्ती करणी गरेको जाहेरी परेपछि दुईजनामाथि अनुसन्धान भइरहेको डिएसपी राईले बताए ।

पीडककी श्रीमतीले दश लाख मागेकाे आराेप

प्रहरीका अनुसार ३ फागुनमा नयनले बोलाएपछि पीडित भनिएकी युवती सेक्यरिटी कम्पनीको कार्यालय पुगेकी थिइन् ।

विराटनगर मुनालपथमा रहेको काठमाडौ सेक्यूरिटी कार्यालयमा बेलुका धम्की दिएर करणी गरेको र करणीको भिडियो श्रेष्ठको नाता भाई पर्ने ४० वर्षिय ज्योति श्रेष्ठले खिचेका थिए ।

घटना पछि भिडियो देखाएर जे भनेको त्यही मान्नुपर्ने भन्दै धम्की दिएको प्रहरीले बताएको छ ।

१२ असारमा नयनकी श्रीमती ४५ वर्षिय रसिला श्रेष्ठले पनि भिडियो चाहिए घर जग्गा पास गर्न दबाब दिएको र पछि दश लाख दिए भिडियो डिलिट गर्ने भन्दै ब्लाकमेलिङ गरेको दाबिसहित उजुरी परेको डिएसपी राईले बताए ।

पीडित पनि शंकाकाे घेरामा

घटना भएको करिब पाँचमहिना पछि युवती जाहेरी दिन पुगेकी थिइन । पाँच महिनापछि जाहेरी परेका कारण अनुसन्धान भइरहेको डिएसपी राईले बताए ।

बलात्कृत भनिएकी युवतीलाई डेढ वर्ष अघि मोरङ प्रहरीले पक्राउ गरेर जवरजस्ती करणी उद्योगको मुद्दा चलाएको थियो ।

बाहिरबाट युवती बोलाएर विराटनगरमा ल्याउँदै जवरजस्ती बेस्यावृतिमा लगाएको जाहेरी परेपछि तत्कालिन मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले पक्राउ गरेर कारबाही अघि बढाएका थिए ।

त्यतिबेला चलाइएको जवरजस्ती करणी उद्योगको मुद्दामा जिल्ला अदालत मोरङले मागेको ३० हजार रुपैयाँ धरौटी बुझाएर उनी छुटेको प्रहरीले जनाएको छ ।

डिएसपी राईले युवती पहिले पनि पक्राउ परेका कारण घटनालाई गम्भिर रुपमा अनुसन्धान गरिरहेको बताए । ‘पहिले पनि युवती विरुद्ध मुद्दा चलेको हो ।’ उनले भने ‘ पछिल्लो घटनामा बलात्कार हो की होइन भन्ने अनुसन्धान गर्दैछौं ।’

Loading...