बार्सिलोना भर्सेस ओसासुना : बार्सिलाेनालाई जित्नै पर्ने दबाब

एजेन्सी, १ साउन । स्पेनिस ला लिगामा आज साविको विजेता बार्सिलोनाले आफ्नो ३७औं खेल खेल्दैछ । नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुने उक्त खेलमा बार्सिलोनाले ओसासुनासँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेल बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ । यस खेलमा बार्सिलोना जित निकाल्दै उपाधि होडमा दाबेदारी प्रस्तुत गर्ने दाउमा हुनेछ । त्यसबाहेक ऊ शीर्ष स्थानको रियल मड्रिडको हारको कामनामा हुनेछ ।

रियलले सोही समय हुने खेलमा भिल्लारियलसँग खेल्दैछ । आफ्नो प्रशिक्षण मैदान इस्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भिल्लारियलमाथि जित निकालेमा रियलले उपाधि पनि आफ्नो बनाउनेछ ।

रियललाई उपाधिका लागि मात्र २ अंकको खाँचो छ । शीर्ष स्थानको रियलसँग ८३ अंक रहेको छ । उसले साविकको विजेता बार्सिलोनाभन्दा चार अंकको अग्रता बनाएको छ । समान खेल खेलेको बार्सिलोनासँग ७९ अंक रहेको छ ।

५७ अंकका साथ पाँचौं स्थानमा रहेको भिल्लारियलमाथि जित निकाल्न नसके रियलले अन्तिम खेलमा १८औं स्थानको लेगानेसविरुद्ध जित निकाल्दै उपाधि जित्नेछ ।

अन्त्यसम्ममा रियल र बार्सिलोनाको अंक बराबरी भएको खण्डमा रियलले हेड टू हेडका आधारमा बार्सालाई पछि पार्दै उपाधि जित्नेछ ।

यता, ओसासुनासँग खेल्न लागेको बार्सिलोना भने रियलको हारको कामना गर्दै आजको खेलमा जित निकाल्ने दाउमा हुनेछ । रियल यस खेलमा हारेमा र बार्सिलाेनाले ओसासुनामाथि जित निकालेमा उपाधि हाेडमा थप राेमाञ्चकता हुनेछ ।

कोरोना महामारीपछि सुचारु ला लिगाका पछिल्ला नौ खेलमध्ये रियलले सबै खेलमा जित निकालेको छ । यता, बार्सिलोनाले भने नौमध्ये छ खेलमा जित र ३ खेलमा बराबरी खेलेको छ ।

रियल सन् २०१६–१७ को सिजनपछि पहिलोपटक उपाधि नजिक पुगेको छ ।

Loading...