संक्रमित आमाबाट गर्भमै शिशुलाई कोरोना संक्रमण हुन सक्छ : अध्ययन

विराटनगर, १ साउन । कोरोना भाइरस संक्रमित आमाबाट गर्भमै शिशुलाई कोरोना संक्रमण हुन सक्ने अध्ययनले देखाएको छ ।

कोरोना भाइरास गर्भवती महिलाको प्लासेन्टा मार्फत भ्रुणमा फैलिन सक्ने इटालीको अध्ययनले देखाएको हो ।

कोभिड १९ बाट संक्रमित महिलाहरूबाट जन्मेका दुई बच्चाहरू आफैंमा संक्रमित भएको मिलन विश्वविद्यालयका क्लाउडियो फेनिजिया र सहकर्मीहरूले अन्तर्राष्ट्रिय एड्स सोसाइटीले आयोजना गरेको सम्मेलनमा बताएका थिए ।

इटालीमा कोरोना भाइरस महामारीको रूप लिइरहेको बेलामा कोरोना भाइरस संक्रमित ३१ गर्भवती महिलाको अध्ययन गरिएको थियो ।

सिएनएनमा उल्लेख गरिएको अनुसन्धानको क्रममा महिला, जन्मिएका बच्चा, प्लासेन्टा, गर्भनाल, आमाको योनीको तरल पदार्थ र आमाको दूधको परीक्षण गर्दा ३१ नवजात शिशुमध्ये दुईजना जन्मदा नै संक्रमित पािएको थियो ।

अनुसन्धानकर्ताहरूले भाइरस प्लासेन्टा, गर्भनालको रगतमा, गर्भवती महिलाको योनी र दुधमा फेला परेको बताएका छन् ।

नवजात शिशुमध्ये एकको गर्भनाल रगतमा एन्टिबडी थियो जुन भर्खरको संक्रमणको संकेत हो ।

यी एन्टिबडीका प्रकारहरू सामान्यतया आमाबाट बच्चामा सार्दैनन्, त्यसैले भ्रूण प्रत्यक्ष रूपमा संक्रमित भएको संकेत गरेको र ३१ जनामध्ये दुईवटामा गर्भमै शिशुलाई कोरोना संक्रमण भएको अध्ययनको निष्कर्ष रहेको छ ।

ती महिलाहरू गर्भावस्थाको अन्तिम चरणमा रहेको हुँदा भाइरसले शिशुको विकासलाई प्रभावित गरेको सम्भावना नभएको फेनिजिया बताउँछन् ।

जीका भाइरस र एचआइभी भाइरस संक्रमित गर्भवती महिलाबाट गर्भमा रहेको बच्चामा सर्न सक्ने हुन्छ ।

Loading...