साग जित्ने खेलाडीलाई ८० लाख नगदसहित सम्मान, प्रशिक्षकलाई वास्ता गरिएन

विराटनगर, १ साउन । बुधबार १ नम्बर प्रदेश सरकारले १३ औं दक्षिण एसियाली खेलकुद सागको विभिन्न खेल विधामा पदक हात पारेका प्रदेशका ८८ जना खेलाडीका सम्मान गर्‍याे ।

प्रदेश सरकारले खेलाडीलाई ८० लाख नगदसहित सम्मान गर्दा प्रशिक्षक र व्यवस्थापनलाई समेट्न सकेन् । जसका कारण प्रशिक्षक असन्तुष्ट बनेका छन् ।

खेलाडीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिकामा खेलेका प्रशिक्षक र ब्यवस्थापकले आफूहरूको भूमिकाको मूल्यांकन गर्न नसकेको जनाउँदै असन्तुष्टि ब्यक्त गरेका हुन् ।

प्रदेश १ सरकारले १३ औं सागको विभिन्न खेल विधामा पदक हात पारेका प्रदेशका ८८ जना खेलाडीका सम्मान र पुरस्कृत गरेको छ । तिनै खेलाडीलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिकामा खेलेका १९ जना प्रशिक्षक र ५ जना टोली ब्यवस्थापकले आफूहरुको भूमिकाको मुल्यांकन गर्न नसकेको जनाउदै असन्तुष्ट छन् ।

‘ खेलाडीलाई सम्मान गर्नु धेरै हाम्रो हो । उपाधि जित्नमा खेलाडीसँगसँगै प्रशिक्षक र व्यवस्थापकको पनि भूमिका हुन्छ ।’ राष्ट्रिय महिला क्रिकेट टोलीका सहायक प्रशिक्षक राजेश पोखरेलले भने ‘ नगदसम्मान ठूलो होइन् । सरकारले सम्झिदिएको भएमात्र खुसी हुनेथियौं ।’

उपाधि दिलाउन प्रशिक्षक व्यवस्थापक, खेलाडी सबैको भूमिका हुन्छ । तर प्रदेश सरकारले खेलाडीलाई मात्र सम्मान गरेर प्रशिक्षक र व्यवस्थापकलाई वास्ता नगरेको महिला फुटबल टोलीका तत्कालिन प्रशिक्षक हरि खड्का बताउँछन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रशिक्षक र टोली व्यस्थापकको भूमिका के ? यदि छैन भने भन्नूपर्‍याे, नेपालमा बसेर काम गर्ने चाहे त्यो प्रशिक्षक होस् या व्यवस्थापन सबैको भूमिका महत्वपूर्ण हुन्छ र सबैले सम्मान आफ्नो मूल्यांकन होस् भनेर काम गरेका हुन्छन् । प्रशिक्षक होस् या ब्यवस्थापक सबै सम्मानका भोका हुन्छन् त्यसैले यसतर्फ मुख्यमन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहान्छु ।’

मैदानमा प्रतिस्पर्धीसँग भीड्न मानसिकदेखि शारीरिक रूपमा तयार पर्ने प्रशिक्षकहरूको भूमिका अवमूल्यन गर्नुनै ठूलो भूल भएको एथलेटिक्सका पूर्वप्रमुख प्रशिक्षक सुशील नरसिंह राणाले बताए ।

महिला ह्याण्डबलकी प्रशिक्षक विन्दा थापा सरकारले प्रशिक्षक र व्यवस्थापकलाई वास्ता नगरेको गुनासो गरिन् ।

प्रदेश १ सामाजिक विकास मन्त्रालय युवा तथा खेलकुद महाशाखा अधिकृत सूर्यराज घिमिरे बजेट नभएका कारण सम्मान गर्न नसकिएको बताउँछन् ।

सम्मान शीर्षकमा १० लाख मात्र बजेट रहेको उल्लेख गर्दै उनले मन्त्रिपरिषद् निर्णयका आधारमा खेलाडीलाई ८० लाख नगदसहित सम्मान गरिएको बताए ।

प्रशिक्षकलाई सम्मान नगर्नु कमजोरी भएको बताउँदै उनले भने ‘प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्ने योजना थियो तर बजेट भएन ।’

Loading...