सम्बतका हिसाबले संसारभन्दा आगाडि छौं तर नेपाल किन गरिब ?

अमेरिकामा सार्वजनिक भएको एप्पल फोन भोलिपल्ट आउँछ, मुस्ताङमा फलेको स्याउले बजार पाउँदैन
sdf
वसन्त अधिकारी

आज संसार २०२० मा छ, हामी नेपाली २०७७ सालमा छौं । सम्बतको हिसाबले हामी संसारभन्दा झण्डै ५६ वर्ष अगाडि छौं । तर विकासको दृष्टिकोणले हेर्ने हो भने हामी सदियौं पछि परेका छौं ।

२४४ वर्षअघि जतिबेला अमेरिका स्वतन्त्र भएको थिएन, त्यसबेला हामीले पाटनको कृष्ण मन्दिर र बसन्तपुरको हनुमान ढोका बनाइसकेका थियौं । तर आज त्यसको झ्याल–ढोकाको चुकुलसम्म फेर्न विदेशी सहयोगको मुख ताक्नुपर्ने अवस्था छ ।

सम्भावनाको दृष्टिकोणले हामी कुनै देशभन्दा कम छैनौं । हामी संसारको उत्कृष्ट पर्यटकीय गन्तब्य मध्येमा पर्छौं । संसारको १० वटा अग्ला हिमालमध्ये ८ वटा नेपालमै छन् । जाति, भाषा, भेसभूषा, धर्म र संस्कारमा हामीले संसारलाई पस्कन सक्ने कुरा धेरै छन् । जलस्रोत र भौगोलिक विविधतामा हामी निकै नै धनी छौं । संसारलाई बौद्ध धर्म हाम्रै समाजको देन हो । यतिका धेरै सम्भावना हुँदा–हुँदै पनि किन हामी नेपाली गरिबी र अभावको दलदलमा पिल्सिएर बाँच्न बाध्य छौं ?

आज नेपालीहरूलाई एउटा अण्डा र एक ग्लास दूधसमेत बिलाशिताको विषय हुन पुगेको छ । देशमा अवसर नभएको कारण दैनिक झण्डै एक हजार बढी नेपाली युवाहरू विदेशको माटोमा पसिना सिच्न गइरहेका छन् । विदेश गएकामध्ये केहीको लास बाकसमा बन्द भएर नेपाल भित्रिने गर्दछ । आज हाम्रो स्तर यतिसम्म खस्किएको छ कि विकसित देशहरूले हामी नेपालीहरूलाई भिसासमेत पत्याउने अवस्था छैन ।

देश सानो हुनेबित्तिकै गरिब हुँदैन । सिंगापुर, दक्षिण कोरिया र स्वीजरल्याण्ड, नेपालभन्दा धेरै साना छन्, तर पनि आर्थिक रूपमा उनीहरू हामीभन्दा धेरै समृद्ध छन् ।

जनसंख्या धेरै भएर देश गरिब हुन्छ भन्ने मान्यतालाई चीन, भारत, कोरिया, जापान र अमेरिकाले गलत साबित गरिदिएका छन् । शिक्षित हुनेबित्तिकै देश धनी हुन्छ भन्नेपनि छैन । क्युबाका जनता अमेरिकी जनताभन्दा शिक्षित देखिएपनि आर्थिक रूपमा अमेरिकीहरूभन्दा धेरै गरिब छन् ।

देश भू–परिवेश हुनेबित्तिकै गरिब हुन्छ भन्ने हामीमध्ये धेरैको मान्यता छ । जुन कुरा स्वीजरल्याण्ड र अष्ट्रिया आदिजस्ता देशहरूको उदाहरणले गलत सिद्ध गर्छ । साथै समुन्द्री नाकासँग जोडिनेबित्तिकै देश धनी हुने पनि होइन । कंगो, सोमालिया, बंगलादेश र पाकिस्तानको उदाहरणबाट यो कुरा स्पष्ट हुन्छ ।

खनिज तथा कच्चा स्रोत–साधनको कमीले देश गरिब हुन्छ भन्ने मान्यतालाई जापान, दक्षीण कोरिया, इटाली, हंगकंग, सिंगापुर, ताइवान, बेल्जियम र स्विजरल्याण्डको उदाहरणले गलत सिद्ध गर्दछ । किनकि यी देशहरू कच्चापदार्थको निम्ति धेरै हदसम्म अन्य देशहरूमाथि आश्रित छन् । प्राकृतिक स्रोत र साधनको कारणले नै यदि देश धनी हुने थियो भने अफ्रिकी देशहरू संसारको सबैभन्दा धनी हुने थियो ।

कृषिको विकासबाट मात्रै हाम्रो विकास सम्भव छ भनेर हामी कहिल्यै थाक्दैनौं । झण्डै ६७ प्रतिशत मानिसले कृषि पेशा अंगाल्दा पनि चामल, दाल, शब्जीको निम्ति अन्य देशमाथि निर्भर रहनुपर्ने हामी नेपालीहरूको बाध्यतालाई बेलायत, क्यानाडा, अस्ट्रेलिया र अमेरिकाको उदाहरणले गलत सिद्ध गर्दछ, जहाँ केबल २–३ प्रतिशत मानिसहरू मात्र कृषि पेशामा आवद्द छन् । जसले आफ्नो लागि मात्र पर्याप्त खाद्यान्नको उत्पादन नगरेर हामी जस्ता गरिब मुलुकहरूलाई पनि सहयोग उपलब्ध गराउन सक्षम छन् ।

राजनीतिक व्यवस्थाले देशको समृद्धिमा फरक पार्छ भन्ने मान्यता हामी धेरैको छ । कतार बहराइन, बु्रनाई, ओमान र साउदी अरेबियामा अझैपनि धेरै हदसम्म व्यक्तिगत स्वतन्त्रता छैन ।

बेलायत, बेल्जियम, डेनमार्क, जापान, नर्वे, स्पेन आदि देशमा अझैपनि संवैधानिक राजतन्त्रको व्यवस्था कायम छ । चीन र सिंगापुरमा अझैपनि राजनीतिक स्वतन्त्रता नभएपनि यी देशहरूले प्रयाप्त विकास गर्न सकेका छन् । जबकी नेपाल, हाइटी, युगान्डा, मालीजस्ता देशहरूमा प्रजातान्त्रिक व्यवस्था भएपनि यी देशहरू आर्थिक विकासको पक्षमा धेरै नै पछाडि परेका छन् ।

यी सबै उदाहरणहरूले अधिकांश हामी नेपालीहरूको सोचाइलाई पक्कैपनि चुनौती प्रदान गरी फरक तरिकाले सोच्न प्रेरित गर्दछ । उत्तर र दक्षिण कोरिया एउटा देशबाट छुट्टिएका दुई देश हुन्, उनीहरूको भाषा, रहन–सहन, धर्म–संस्कार उस्तै–उस्तै भएपनि दक्षिण कोरिया अति समृद्ध छ भने उत्तर कोरिया आर्थिक रूपमा निकै पछि परेको छ, किन ?

मात्र केही दशक अघिसम्म चीन, भारत, सिंगापुर, मलेसिया, कोरिया, ताइवानजस्ता देशहरू चरम गरिबीको अवस्थामा थिए । तर आज उनीहरू छोटो समयमा नै समृद्धिको बाटोतर्फ अग्रसर हुँदैछन् । दोस्रो विश्वयुद्धताका युरोप र जापान तहस–नहस भएका थिए । तर आज उनीहरू थोरै समयमा संसारको सबैभन्दा समृद्ध र शक्तिशाली मुलुक हुन पुगे ?

आज विकसित देशहरू त्यसै समृद्ध भएका होइनन्, उनीहरू यसकारण सफल हुनसके किनकि उनीहरूले आर्थिक उन्नतिको निम्ति चाहिने आर्थिक स्वतन्त्रताको आधारहरू तयार गर्न सफल भए ।

उनीहरूले राजनीति स्थायीत्व र जनताप्रति जवाफदेही सरकार स्थापित गरे । कानूनी शासनलाई बढावा दिए, जसले सुशासनलाई सुनिश्चित गरी भ्रस्टाचार र दण्डहीनतालाई न्यूनीकरण गर्‍यो ।

झन्झटिलो प्रशासनिक तन्त्रलाई सहज बनाए, सम्पतिमाथिको अधिकारलाई सुनिश्चित गरे । व्यापार र नाफालाई हेर्ने दृष्टिकोणप्रति सकारात्मकता अपनाए । ब्यापार र उद्यमशीलता विकासको निम्ति भौतिक संरचना निर्माणमा ध्यान दिएर लागानीको वातावरण तयार गरे । खुल्ला बजार नीति अवलम्बन गरी उत्पादन र व्यापारलाई बढावा दिए, जसले धेरैभन्दा धेरै रोजगारी सिर्जना गरी आर्थिक प्रगतिको बाटो पहिल्याउन सफल भए । तर नेपालमा यी सब कुराको स्थिति निकै दयनीय छ । नेपाल गरिब छ, किनकि हामीले राजनीतिक स्थायीत्व कायम गर्न सकेनौं । विगत २८ वर्षमा हामीले २५ पटक त सरकार मात्र फेर्‍यौं ।

विधिको शासनभन्दा व्यक्तिको शासन हाबी छ । पहुँच हुने र संगठित रूपमा जसले जे गर्दा पनि हुन्छ । जो कोहिले जुनसुकै बहानामा जतिबेला पनि बन्द हड्ताल गरी नागरिकहरूको जिउ–धन र व्यक्तिगत स्वतन्त्रतामाथि प्रहार गर्नसक्छ ।

हामीले नागरिकहरूको सम्पतिमाथिको अधिकारको रक्षा गर्नेतर्फ ध्यान पुर्‍याउन सकेनौं । कतिखेर कसले कसको जग्गामा झन्डा गाड्छ, वा सहमतिविना नै राज्यले कतिखेर बाटो बढाउनको निम्ति डोजर लिएर घर फोड्न आइपुग्छ थाहा छैन ।

हामीले भौतिक संरचनाको विकास गर्न सकेनौं । अमेरिका र चीनमा बनेको एप्पल फोन भोलिपल्ट नेपाल भित्रिन सक्छ तर अझैपनि हामीले जुम्ला र मुस्ताङको स्याउ नेपाली बजारमा ल्याउन सकेका छैनौं ।

हामी यसकारण गरिब छौं । किनकि हामीले लगानीको उचित वातावरण तयार गर्न सकेनौं । ड्रुइङ बिजनेसको रिपोर्टले स्पस्ट गर्दछ कि नेपाल लगानी र व्यापार गर्नको निम्ति उचित गन्तब्य बनिसकेको छैन ।

झन्झटिलो प्रशासनिकतन्त्रको जालोले गरिखाने नागरिकहरूलाई हरेक कदममा निरुत्साहित गर्छ । भ्रस्टाचारको मामिलामा नेपाल १८० देशमध्ये ११३ स्थानमा पर्छ ।

उद्यम र व्यापारलाई हेर्ने हाम्रो दृष्टिकोण त्यति सकारात्मक छैन । नाफा अनैतिक हो र यो अरुको शोषणबाट मात्र आर्जन गर्न सकिन्छ भन्ने मान्यता राख्ने हाम्रो समाजमा अझैपनि धेरै छन् ।

जबसम्म हामी उद्यम र व्यापारलाई हेर्ने दृष्टिकोणमा सकारात्मकता अपनाउदैनौं । राजनीतिक स्थायीत्व, विधिको शासन, नागरिकहरूको जीउधनको सुरक्षा र शान्ति–सुव्यवस्था कायम गर्दैनौं । भौतिक संरचनाको विकास, लगानीको उचित वातावरण, प्रतिस्पर्धा तथा छनौटको अवसर प्रदान गरी छिटो–छरितो प्रशासनतन्त्रको प्रत्याभूति गराउदैनौं, तबसम्म हामीले समृद्धिको परिकल्पना गर्नु दिवासपना मात्र हुनेछ । समृद्धि र गरिबी दुवै हासिल गर्न सकिने कुरा हुन् । के हासिल गर्ने भन्ने कुरा देशले अङ्गालेको आर्थिक नीतिमा भर पर्दछ ।

यदि, हामी नेपालीहरू हाल गरिबीको स्थितिबाट समृद्धितर्फ अग्रसर हुन चाहन्छौं भने पेशा, व्यवसाय र उद्यम गरी खाने नागरिकहरूलाई सहज रूपले गरी खान सक्ने आर्थिक स्वतन्त्रता प्रदान गर्नुपर्छ ।

किनकि विकसित देशहरूले आर्थिक समृद्धि हासिल गर्न आर्थिक स्वतन्त्रताको नीति तथा कानून बनाएका छन् । आर्थिक स्वतन्त्रताको नीति नअङ्गालेको खण्डमा हामी नेपालीहरू जसरी अहिले गरिबीमा बाँचेका छौं, आउने दिनमा पनि त्यसरी नै गरिबीको दलदलमै बाँच्न बाध्य हुनेछौं ।

Loading...