अध्यागमनका कर्मचारीले भिसा बेचेको खुलासा

विराटनगर, १ साउन । अध्यागमन विभागका कर्मचारीले पदको दुरुपयोग गर्दै विदेशी नागरिकलाई भिसा बेचेको घटना बाहिरिएको छ ।

अधिकृत रामचन्द्र काफ्लेले प्रवेशाज्ञा (भिसा) अनाधिकृत तवरबाट जारी गर्दै तीन जना चिनियाँ नागरिकलाई बेचेको खुुलेको हो ।

बिचौलियाको सहयोगमा विभागको स्टोर शाखामा रहेको भिसा स्टिकर गोप्य रुपमा निकाल्दै चिनियाँ नागरिकलाई नातेदार (रिलेसन) भिसा जारी गरेको पाइएको छ । उनी त्यस बेला स्टोर शाखाकै प्रमुख थिए ।

कुनै पनि आवश्यक कागजपत्र बिनै जारी गरिएको भिषा काफ्लेले कति रकममा बेचे भन्ने खुल्न बाँकी छ ।

केही थान भिसा स्टिकर गायव भएको पाइएपछि विभागले काफ्लेमाथि छानबिन थालेको छ ।

रिलेसन भिसा पाउन स्थानीय तहले गरेको नाता प्रमाणित, सनाखत गर्ने व्यक्तिको सशरीर उपस्थिति र सनाखत गर्ने व्यक्तिको नेपाली नागरिकता अनिवार्य पेस गर्नुपर्छ ।

तर भिसा पाएका चिनियाँ नागरिकले कुनै पनि कागजपत्र पेस गरेको प्रमाण छैन ।

विभागका महानिर्देशक रमेशकुमार केसीले भिसा दुरुपयोगबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

भिसा दुरुपयोग गर्न काफ्लेलाई स्टोर शाखाका खरिदार विष्णु कार्कीले सघाएको खुलेको छ ।

विभागले थप अनुसन्धान र कारबाहीका लागि यससम्बन्धी फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।

भिसा दुरुपयोग सम्बन्धी फायल मंगलबार अख्तियारमा पुुगेको छ ।

काफ्लेले बेचेको भनिएको तीनै जना चिनियाँको राहदानी विभागले नियन्त्रणमा लिएको छ ।

कार्यालयबाहिर अनधिकृत ढंगले भिसा लिएको अभियोगमा उनीहरूलाई पनि कारबाही हुन सक्ने विभागका एक अधिकारीले बताए ।

काफ्ले हाल रसुवागढीस्थित अध्यागमन नाका प्रमुख छन् । विभागले उनलाई सिन्धुपाल्चोकस्थित तातोपानी नाकाको जिम्मेवारीसमेत दिएको थियो । आजको अन्नपूर्ण पोस्टमा समाचार छ

Loading...