एक किलो सलह ल्याए पाँचसय दिन प्रस्ताव

काठमाडौं, ३० असार । सलह नियन्त्रणका लागि एक किलो सलह भेला पारेर ल्याउनेलाई ५०० दिने प्रस्ताव गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले विषादी प्रयोग नगरी सलह नियन्त्रणका लागि प्रति किलो पाँचसय दिन प्रस्ताव पेश गरेको हो ।

यसअघि विभिन्न क्षेत्रका स्थानीय तहले एक किलो सलह ल्याउनेलाई रु २०, ५० र १०० प्रतिकिलो दिने घोषणा गरेका थिए ।

नेपालमा सलहको अध्ययन गरी आवश्यक तयारी कार्य गर्न कृषि मन्त्रालयले विज्ञ सहितको प्राविधिक कार्यदल गठन गरेको थियो । सोही कार्यदलको सोमबारको बैठकको निर्णयानुसार मन्त्रालयमा उक्त प्रस्ताव लगिएको कार्यदलका संयोजक तथा उक्त केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले बताए ।

भारतमा सलहको झुण्ड प्रवेश गरेलगत्तै नेपालमा छिर्नसक्ने सम्भावनालाई दृष्टिगत गरी सो कार्यदल गत जेठ १३ गते गठन गरिएको थियो । हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालमा सलहको एउटा झुण्ड असार १३ गते भित्रिएको थियो ।

‘सर्वसाधारणलाई सलह नियन्त्रणमा परिचालन हुन सहज होस भनेर एक किलो ल्याउनेलाई ५०० को प्रस्ताव मन्त्रालयमा पेश गरेका छौँ, संयोजक हुमागाईंले भने, ‘रु २० वा रु ५० दिएर उनीहरुमा उत्साह नै देखिएन, त्यसैले रकम बढाएर नयाँ प्रस्ताव गरेका हौँ ।’ रासस

Loading...