‘विप्लव’ समुहका शैन्य विभाग प्रमुख मोरङबाट पक्राउ

विराटनगर, ३० असार । प्रहरीले प्रतिबन्धित नेक्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका पूर्वी कमाण्ड शैन्य विभाग प्रमुखलाई मोरङको उर्लाबारीबाट पक्राउ गरेको छ ।

मंगलबार शैन्य विभाग प्रमुख ४० वर्षीय नन्दकिशोर भनिने नन्दबहादुर बोहरालाई पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार उर्लाबारी नगरपालिका–३ घर भएका बोहरा उनकै घरबाट पक्राउ परेका हुन् ।

बोहराका साथबाट एउटा कटुवा पेस्तोल, तीन राउण्ड गोली र सकेट बम बरामद भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बम बनाउन र विष्फोटमा प्रयोग गरिने विष्फोटक पदार्थ पनि बरामद भएको बताइएको छ ।

उनका साथबाट पूर्व लडाकु लेखिएको एक थान छाप, नेपाल टेलिकमको सातवटा सीम, एनसेलका दुईवटा सीमकार्ड, एउटा मोबाइल, कम्प्युटरको हार्डडिक्स, चारवटा डाटा केवुल लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगर जिल्ला प्रहरी कार्यालय मोरङले चलाएको संयुक्त अप्रेशनका क्रममा बोहरा पक्राउ परेका हुन् ।

मुलुकका विभिन्न ठाउँमा गरिएका विष्फोटका घटना र विध्वंसात्मक गतिविधीमा संलग्न रहेको आरोप लागेका उनीविरुद्ध थप अनुसन्धानपछि मात्रै कारबाही प्रक्रिया अघि बढाउने प्रहरीको भनाइ छ । बोहरालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएको छ ।

Loading...