संक्रमित आमाबाट गर्भमै शिशुलाई कोरोना संक्रमण भएको पुष्टि

विराटनगर, ३० असार । फ्रान्समा संक्रमित आमाबाट गर्भमै एक शिशुलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि गरिएको छ ।

नेचर कम्युनिकेसन नामक जर्नलमा प्रकाशित अध्ययनका अनुसार गर्भवती महिलाले पेटमा भएको बच्चामा कोरोना सारेको यो पहिलो घटना भएको डाक्टरहरूले बताएका छन् ।

बच्चा जन्मेको केही दिनमै दिमागमा भाइरसले असर पारेको देखिएको हुँदा बच्चालाई जन्मिनुअघि नै संक्रमण भएको बताइएको छ ।

हाल सो बच्चा निको भइसकेको छ । हालसम्म धेरै नचजात शिशुहरू जन्मिएपनि संक्रमित आमाबाट गर्भमै शिशुलाई कोरोना संक्रमण भएको पुष्टि भने भएको छैन ।

पेरिसको एन्टोइन बाक्लियर अस्पतालमा बाल रोग विशेषज्ञ र नवजात शिशुको देखभालको चिकित्सा निर्देशक डानिएल डे लुकाका अनुसार यो केसमा भाइरस सरेकामा कुनै शंका छैन ।

उनले साधारणतया यसप्रकारको संक्रमण नहुने भएपनि गर्भमै भाइरस सर्न सक्नेप्रति स्वास्थ्यकर्मीहरू सचेत हुन जरुरी रहेको बताएकी छन् ।

२४ मार्चमा २३ वर्षीया गर्भवती महिलालाई कोरोना संक्रमणका कारण अस्पताल भर्ना गरिएको थियो ।

अस्पताल भर्ना भएको तीन दिनपछि गर्भमा रहेको उनको बच्चामा समस्या देखिएपछि डाक्टरहरूले सामान्य एनेस्थेटिक दिएर तत्काल शल्यक्रिया गरेका थिए ।

सामान्य एनेस्थेटिकले असर गरेको हुनाले शिशुलाई तत्काल नवशिशु सघन उपचार कक्षमा आइसोलेसनमा राखियो ।

बच्चाको रगत र फोक्सोमा निकालेको तरल पदार्थहरूको परीक्षणले कोभिड १९ संक्रमण पुष्टि गर्‍याे।

अधिक विस्तृत परीक्षणहरूले भाइरस आमाको रगतबाट प्लेसेंटामा फैलिएको र ईन्फ्लेमेसन उत्पन्न गराएर बच्चामा सरेको पत्ता लाग्यो ।

आमाको रगत, नवजात शिशुको रगत, कर्डको रगत, प्लेसेंटा, अम्नीओटिक फ्ल्युड चाहिने हुँदा, र यी सबै नमूनाहरू महामारीमा प्राप्त गर्न अत्यन्त गाह्रो हुने भएकाले पहिले नै गर्भमै शिशुलाई कोरोना संक्रमण भएको पुष्टि हुन नसकेको बताइएको छ ।

शिशु जन्मिएको समयमा कोभिड १९बाट संक्रमित बच्चाहरूलाई कसरी वउपचार गर्ने भन्नेबारेमा कुनै क्लिनिकल मार्गदर्शन थिएन ।

एन्टिभाइरल औषधि, रेम्डेसिभिर चलाउने विचार गरएपनि बच्चा बिस्तारै निको हुन थालेपछि कुनै खास औषधी दिइएन ।

पछि कुनै औषधिको प्रयोगबिनै शिशु निको भएको डाक्टरहरूले बताएका छन् । 

Loading...