सुन तस्करी प्रकरण : गोरेका सहयोगी खड्कालाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश

विराटनगर, ३० असार । सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका अभियुक्त हरिशरण खड्कालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

मंगलबार जिल्ला न्यायधिस मेदिनीप्रसाद पौडेलको इजलासले खड्कालाई पूर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।

आदेश पछि खड्का कारागार भएको जिल्ला अदालत मोरङका श्रेस्तेदार इश्वरमणी ओझाले जानकारी दिए ।

आरडीटी परीक्षण गरेर प्रहरीले खड्कालाई सोमबार नै अदालतमा बुझाएको थियो । तर रिपोर्ट पोजेटिभ आएपछि अदालतले फिर्ता पठाएको थियो । पीसीआर जाँच गर्दा सोमबार साँझ नै रिपोर्ट नेगेभिट आएपछि मंगलबार थुनछेक बहस पछि थुनामा राख्दे आदेश भएकाे हाे ।

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सुन तस्करी प्रकरणका अभियुक्त खड्कालाई आइतबार राति ११ बजे मोरङ ल्याइएको थियो ।

काभ्रेको बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय खड्का सुन प्रकरणपछि भने उतै लुकेर बसेका थिए । उनी १४ वर्ष अघि दुबई गएका थिए ।

मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती समूहले दुवईबाट २०७४ साल माघ ल्याएको साढे ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायव बनाइएको थियो ।

अनुसन्धानबाट हराएको साढे ३३ किलाेसहित करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा खड्काको संलग्नता रहेको पत्ता लागेको थियो ।

तस्करीको सुन गायव भएपछि गोरे समूहले करेन्ट लगाउँदै यातना दिएर २०७४ साल फागुन १९ गते माेरङ उर्लाबारीका सनम शाक्यको हत्या गरेपछि घटना बाहिर आएको थियो ।

सुन तस्करी प्रकरणमा गृह मन्त्रालयले गठन गरेको ईश्वरराज पौडेल नेत्रृत्वको छानबिन समितिले मोरङ प्रहरीहुँदै सरकारी वकिल कार्यालयमार्फत १९ बैशाख २०७५ मा जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) अवैध रुपमा सुन आयात गरिएको दाबी गरिएको छ ।

Loading...