स्याङ्जामा पहिरो : पूर्व गाविस अध्यक्षको निधन, दुईजनाको उद्धार र ३ बेपत्ता

स्याङ्जा, ३० असार । अबिरल वर्षाका कारण पहिरोले पुरिएर स्याङ्जामा पूर्व गाविस अध्यक्षको निधन भएको छ ।

कालीगण्डकी गाउँपालिका ४ खहरेमा गएको पहिरोका कारण पूर्व गाविस अध्यक्ष ७० वर्षीय इमान सिंह रानाको मृत्यु भएको हो ।

पहिरोले पुरिएर तीनजना बेपत्ता भएका छन् भने एक वडा सदस्यसहित दुई जना घाइते भएका छन् ।

पहिरोबाट अन्य तीनजना प्रेमचन्द्र पाण्डे, टीका थापा र गिमान सिंह थापा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रहारी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए ।

पहिरोले वडा सदस्य होमनाथ पाण्डे र वीरबहादुर राना घाइते भएका र उनीहरूको विर्घा स्वास्थ्य चौकीमा उपचार भइरहेको वडा अध्यक्ष चक्रपाणी पाण्डेले जानकारी दिए ।

बेपत्ता ३ जनाको खोजी तथा उद्धार जारी रहेको प्रहरीले जनाएको छ ।

गाउँ खानेपानीको समस्याका कारण पानीको मुलमा पुगेका उनीहरूलाई माथिबाट खसेको पहिरोले पुरेको प्रहरीले जनाएको छ ।

Loading...