नकारात्मक सोचको अन्तिम बिन्दुमा आत्महत्याको योजना बन्छ, समयमा नै ध्यान दिए रोक्न सकिन्छ

नेपालमा मात्र होइन, कोरोना महामारीका कारण संसारका धेरै देशमा आत्महत्या गर्ने मानिसको संख्या बढेको छ । काम बिहीन अवस्थामा दिमागमा अनावश्यक कुरा खेल्नु सामान्य हो । तर लकडाउनले धेरै मानिसलाई मानसिक रुपमा प्रभावित बनाएको मनोचिकित्सकहरू बताउँछन् ।


सञ्चार माध्यम, सामाजिक सञ्जालमा कोरोनाको सूचनाले भरिएको छ ।  वीपी  कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक विभाग प्रमुख डाक्टर निदेश सापकोटा, कोरोना फैलँदा जस्तोको त्रास, डरबाट मानिस मुक्त भएका छन । तर लकडाउनका कारण मानसिक समस्या बढेको छ ।

 लकडाउनका कारणले मानिसमा मानसिक रोग बढेको भन्दा पनि कोरोनाको कारण बढेको डर, पुराना मानसिक रोगका बिरामी, मानसिक रोगको औषधि खान छोडेका बिरामी, केही निश्चित समयको लागि औषधि दिएर भेट्न बोलाएका बिरामीमा रोग बल्झिएको  छ । लकडाउनकै कारण नयाँ रोगी पनि थपिएका छन ।

 बालबालिकामा  क्षणिक डिप्रेसन

समाजमा मानिसले बुझेको डिप्रेसन र व्यबहारिक रुपमा हुने डिप्रेसन फरक हुन्छ । एकछिन मन उदास हुनुलाई डिप्रेसन भनिँदैन । लगातार दुई हप्ता वा सोभन्दा बढी समयका लागि मन निराश भए डिप्रेसनको संकेत हुन सक्छ ।

बालबालिकाहरूमा मिक्सड खालको ब्यबहार देख्नमा आएको छ । बालबालिकाहरू स्कुल पढ्नका लागि मात्र जाँदैनन् । त्यहाँ उनीहरू पढाइका साथै आफ्ना उमेर समूहका मानिसहरूसँग कुरा गर्न वा खेल्न पनि जाने गर्छन् जसले उनीहरूलाई समय काट्न सजिलो हुनुका साथै रमाइलो पनि हुने गर्थ्यो । तर, अहिले लकडाउनका कारण घरमै बस्ने, जतिखेर पनि मोबाइल चलाउने, गेम खेलेर समय बिताइरहेका कारण उनीहरूको शारीरिक गतिविधिहरूमा पनि कमी भएको छ ।

 कतिपय परिवारमा हरेक समय कोरोनाको विषयमा बोल्ने, टिभी, अनलाईन तथा पत्रिकामा यस विषयमा समाचार हेरिरहने हुँदा यसको प्रभाव बच्चामा पर्छ । जसले गर्दा उनीहरूमा डर पैदा हुने र मानोसामाजिक असर पर्ने देखिएको छ । आमाबुबाहरूले आफ्नो बच्चाहरूलाई सक्ने जति हेरचाह पुर्याएका हुन्छन् । बच्चाहरू पहिलाको जस्तो खेल्न र चल्न नपाएका कारण घरमै बाँधिएका जस्ता भएका छन् ।

लकडाउनका कारणले नै बच्चाहरूमा मानसिक रोग बढेको  भन्न सकिँदैन । तर, उनीहरूलाई लकडाउनले  क्षणिक (केही समयको लागि) डिप्रेसन भने निम्त्याएको छ ।

अभिभावकले कुन समयमा कोरोनाको समाचार हेर्ने, यसबारेमा कति कुरा गर्ने विषयलाई ध्यानमा राख्नुपर्ने हुन्छ । साथै लकडाउन पहिलेको तुलनामा केही खुलेको हुँदा बच्चाहरूलाई नजिकै खेल्न पठाउने, शारीरिक व्यायाममा जोड दिने र मोबाइल चलाउनुको साटो केही रचनात्मक कामहरूमा व्यस्त बनाउनेतिर लाग्नु पर्छ ।

घर चलाउनु पर्नेमा तनाव बढ्दो

लकडाउनका कारण घर चलाउनुपर्ने मानिसको जागिर गुम्दा, पैसा कमाउन नसक्दा, ऋण लिएर काम गर्नेमा अवश्य पनि तनाव निम्तिएको छ ।

औषधि खानुपर्ने पुराना बिरामीको जागिर छुट्दा, पैसा नभएको कारण औषधि किन्न नसक्दा औषधि छुट्ने हुँदा मानिसलाई ठूलो असर परेको देखिन्छ ।

मानिसमा मनोसामाजिक असर निम्त्याएको  छ । जस्ले गर्दा डिप्रेसन तथा एन्जाइटी जस्ता समस्याहरूको जोखिम थप बढेर जान्छ । एउटै घटना वा उस्तै सन्दर्भले व्यक्तिमा पार्ने मानसिक प्रभाव फरक फरक हुनसक्छ ।

कसैले ठूलो चोट वा अप्रत्यासित घटनालाई पनि सजिलै आत्मसाथ गर्न सक्छ भने त्यही कुरा अर्को व्यक्तिका लागि कठिन विषय बन्नसक्छ ।

संवेदनशील र भावुक स्वभावका व्यक्तिहरूलाई कहिलेकाहिँ सामान्य कुराले पनि गहिरो चोट पुगिरहेको हुन सक्छ । कठिन परिस्थितिलाई कसरी सम्हाल्ने भन्ने कुरा व्यक्तिअनुसार फरक हुन्छ ।

पहिलादेखि नै मानसिक रोग भएकाहरूको तनाव सहन गर्ने क्षमता कमजोर हुन्छ । जुनसुकै उमेर समूहका मानिसमा यस्तो समस्या देखिने सम्भावना रहन्छ । विश्वका लाखौ मानिसहरुले जागिर गुमाएका छन्, तीमध्ये सबै नभएर कोही मात्र तनावमा छन् । त्यो पनि समयअनुसार, लकडाउन खुल्दै जाँदा अवश्य पनि कम हुँदै जान्छ ।

सामान्य कुरामा घरेलु हिंसा

धेरे जसो समाचारहरूमा लकडाउनका कारण घरेलु हिंसा बढेको बताइन्छ । तर, लकडाउनअघि देखिनै सामान्य कुराहरूमा झगडा पर्ने घरहरूमा हिंसा बढेको हो ।

लकडाउनका कारण अधिकांश मानिसहरू पुरै समय घरमा बस्न बाध्य भएका छन् । एक अर्कासँग बिताएको समय बढेकै कारणले गर्दा कतिपय घरहरूमा घरेलु हिंसा बढेको हुनसक्छ ।

सबैमा भन्दा पनि केही घरमा पहिलेको तुलनामा धेरै समय बिताउने हुँदा परिवारका सदस्य वा श्रीमान् श्रीमतीले एक अर्काको कुरा तथा भावना नबुझ्दा, मनमुटाव सुरु भएको हो ।

आत्महत्याको प्रमुख कारण डिप्रेसन

आत्महत्या गर्ने विभिन्न कारणहरू मध्ये ९० प्रतिशत भन्दा धेरैले मानसिक रोगका कारण आत्महत्या गर्ने गर्छन् । त्यसमध्ये पनि डिप्रेसन प्रमुख कारण मानिन्छ ।

एन्जाइटीका कारण आत्महत्या गर्ने सम्भावना कम हुन्छ । एन्जाइटी हुँदा डर, त्रास तथा केही कुराले मरिपो हाल्छ कि भन्ने भय हुने हुँदा मर्न डराउने मानिसले आत्महत्या गर्ने सम्भावना निकै कम हुन्छ ।

रीस, आवेग तथा निर्णय लिने क्षमतामा कमि आएका कारण पनि मानिसहरू आत्महत्याको बाटो रोज्छन् । त्यसमा पनि मानिसहरूले कुन चिजको प्रयोग गरेर आत्महत्या गर्ने प्रयास गर्छन् भन्ने कुरामा पनि भर पर्छ ।

आत्महत्या मानसिक रोग बढ्ने कारणले हुने हुँदा यदि मानसिक रोगका व्यक्तिहरू बढेमा आत्महत्या पनि बढ्ने गर्छ । तर, सबै मानिसक रोगका व्यक्तिहरूले आत्महत्या गर्छन् भन्ने पनि हुँदैन । डिप्रेसन कडा हुँदै गएमा, जीवन निरर्थक सोच्न थालेमा, बाँच्न भन्दा मर्न सजिलो हुने सोच आएमा, जीवनप्रतिको आशा गुम्ने कारणले मानिसले आत्महत्याको बाटो रोज्ने गर्छ ।

आत्महत्या गर्ने विचार गरेका मनिसले लक्षण देखाउँछन् । समस्याको निकास ननिस्किने हुँदा र नकारात्मक सोचको अन्तिम बिन्दुमा पुगेर व्यक्तिले आत्महत्याको योजना तयार पार्छ ।

समाजमा आत्महत्या मानसिक अवस्था गुमेको, कायरले मात्र गर्ने भन्ने भ्रम छ  । कोही व्यक्तिले मनोबल हारेको कुरा सुनाउँदा उसलाई सुनिदिने भन्दा पनि मजाक बनाउनेदेखि लिएर कराउने गरेको पाइन्छ ।

मनको कुरा सुनिदिने नहुँदा एक व्यक्तिले आफ्नो मनको कुरा खुलेर भन्न पाउँदैन, मनमा कुरा गुम्सिँदै जाँदा, व्यक्त गर्न नपाउँदा, आफ्नो कुरा कसैले नबुझिदिँदा, मानिसले आत्महत्या बाहेक केही समाधान रहेन भन्ने सोचेर  मृत्युलाई विकल्पको रुपमा लिन थाल्छ । मान्छे यसै मर्न चाहँदैन ।

कुनै पनि मानिस समस्यासँग जुझ्न सकुन्जेल मर्ने इच्छा गर्दैन । अन्तिम अवस्थामा मात्र मानिसले आफैँलाई मार्न तयार हुन्छ । आत्महत्या गर्ने विचार गरेका मनिसले केही न केही लक्षण देखाउँछन् ।

उनीहरू डिप्रेसन तथा आत्महत्याको सम्बन्धमा कुरा गर्ने, त्यसको बारेमा फेसबुक वा अन्य सामाजिक संजालमा लेख्ने, साथीहरूसँग कुरा गर्दा जीवनलाई नकरात्मक तरिकाले बयान गर्ने, मर्छु भनेर जिस्कने तथा के कुराले सजिलै मर्न सकिन्छ भनेर योजना बनाउने गर्छन् ।

धेरैलाई त्यस्ता मानिसको कुरा हल्का खालको वा मजाक जस्तो लाग्न पनि सक्छ । तर, यस्ता कुराहरूलाई हल्का रुपमा लिएर मजाक उडाउनुभन्दा पनि उनीहरूको कुरालाई गम्भीरताका साथ सुनिदिनु पर्छ । समस्या बढ्दै गएको अनुभव भएमा ढिलो नगरी मनोविद वा मनोचिकित्सककहाँ जान सल्लाह दिनुपर्छ ।

परिवारले विशेष ध्यान दिनुपर्ने हुन्छ

कुनै पनि व्यक्तिले एक्कासी आत्महत्याको प्रयास गर्दैन । अहिलेको समय धेरैजसो घरमा बित्ने भएकाले परिवारको सदस्य वा साथीभाइमा यस्ता लक्षण देखिन थालेमा उक्त व्यक्तिलाई सहयोगको आवश्यकता छ भन्ने बुझ्नुपर्छ ।

कुनै पनि व्यक्तिले केही भनोस् वा नभनोस् उनीहरूको व्यवहारमा आएको परिवर्तन, खानपान तथा निन्द्राको शैलीमा आएको परिवर्तन, दुब्लाउँदै गएमा, धेरै समय एक्लै बस्न थालेमा, सानो सानो कुरामा रिसाउने, झर्किने तथा कराउने गरिरहेको वा मादक पदार्थको अत्याधिक सेवन गर्न थालेमा परिवारले यस्ता कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

परवारको कुनै पनि सदस्यमा मानसिक समस्या देखापर्न थालेमा परिवारले मिलेर समस्याको समाधान निकाल्नुपर्ने हुन्छ । आफ्ना भावना परिवारका कुनै सदस्यलाई सुनाउँदा उनीहरूलाई कराउनुको साटो उनीहरूको कुरा सुनेर, बुझेर उनीहरूलाई सम्झाएर मनोचिकित्सककोमा लैजानुपर्छ ।

अस्पताल भर्ना गर्नुपर्ने हुनसक्छ

आत्महत्या एक रोगका कारणले हुने हुँदा यसको उपचार नै गराउनुपर्ने हुन्छ । मानिसको मानसिक अवस्था हेरेर औषधि वा मनोचिकित्सकको परामर्शले यसको उपचार गर्न सकिन्छ ।

आत्महत्या एक साइकोथेरापिक इमर्जेन्सी हो यसलाई घरमा परामर्श दिएर रोक्न सकिँदैन । यसलाई साइकोथेरापीको माध्यमबाट परामर्श दिनुपर्ने हुन्छ ।

आत्महत्याको सोच आइसकेको वा पटकपटक आत्महत्याको प्रयास गरिसकेको व्यक्तिलाई सकेसम्म मानसिक परामर्श र उपचार उपलब्ध हुने अस्पतालमा भर्ना नै गर्नुपर्ने हुन्छ ।

मानिसिक रोग बायोलोजिकल (शरीरमा रसायनको प्रभाव), साइकोलोजिकल (दिमागको सहन गर्ने क्षमता), र सोसल (विभिन्न सामाजिक कारण) गरि तीन मुख्य कारणले हुन्छन् ।

यसमध्येका कुनै एक कारणले गर्दा मात्र पनि मानिसलाई मानसिक रोगी बनाउन सक्छ । व्यक्तिपिच्छे कारणहरू फरकफरक हुन्छन् । त्यसैले आत्महत्या मात्र नभएर अन्य मानसिक रोगका लागि पनि मनोचिकित्सकको परामर्श र आवश्यक परे केही औषधिको सेवन गरेर समस्यालाई समाधान गरि रोग निको पार्न सकिन्छ ।

प्रस्तुति : अंकिता ताम्राकार ।

Loading...