सुन तस्करी प्रकरण : गोरेका सहयोगीलाई विराटनगर ल्याइयो, आरडीटी जाँच गर्दा कोरोना पोजेटिभ

पिसीआर जाँचपछि अदालत बुझाइने

विराटनगर, २९ असार । मोरङ उर्लाबारीका सनम शाक्य हत्या तथा करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त हरिशरण खड्कालाई विराटनगर ल्याइएको छ ।

‘इन्टरपोलको रेकर्नर नोटिस’मा रहेका खड्का दुबईबाट नेपाल आउने क्रममा शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

उनी विरुद्धको मुद्दा जिल्ला अदालत मोरङमा रहेका कारण आइतबार राति ११ बजे विराटनगर ल्याइएको हो । प्रहरीले आरडीटी विधिबाट कोरोना परीक्षण गरेर उनलाई सोमबार मोरङ अदालतमा पेस गरेको थियो ।

तर रिपोर्ट पोजेटिभ आएपछि कोरोना संक्रमण भएनभएको विषयमा पिसीआर विधिबाट थप परीक्षण गरेर रिपोर्टसहित बुझाउन अनुमति दिएर अदालतले फिर्ता पठाएको छ ।

आरडीटी पोजेटिभ आएपछि बयान लिएर उनीमाथि कारबाही अघि बढाउने प्रक्रिया तत्काललाई रोकिएको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले बताए । पिसीआर रिपोर्टसहित प्रहरीले बुझाएपछि अभियुक्त खड्कामाथिको बाँकी कारबाही अघि बढ्ने जानकारी उनले दिए ।

पिसीआर विधिबाट परीक्षण गर्न अभियुक्तको स्वाब संकलन भइसकेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोश खड्काले बताए । पिसीआर रिपोर्ट आएपछि अदालतमा बुझाइने र त्यस भन्दा अघि आइसोलेसनमा लगेर राखिने उनको भनाइ छ ।

एसपी खड्काकाअनुसार कुनै घटनामा संलग्नलाई पक्राउ गरेर अदालतमा बुझाउनु अघि प्रहरीले कोरोना भाइरसको संक्रमण भए नभएको पुष्टि गर्न आरडीटी परीक्षण गर्ने गरेको छ ।

अभियुक्त खड्कालाई दुवईमै हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारपछि निको भएर उनी नेपाल आउने क्रममा काठमाडौंमा पक्राउ परेको स्रोतले बतायो । काभ्रेको बेथानचोक गाउँपालिका–४ घर भएका ४२ वर्षीय खड्का सुन प्रकरणपछि भने फरार बनेका थिए । रेकर्नर नोटिस जारी गरेर इन्टरपोलमार्फत उनको खोजी भइरहेको थियो ।

सुन तस्करीका मुख्य अभियुक्त मोरङ उर्लाबारीका चूडामणि उप्रेती ‘गोरे’ समूहले दुवईबाट २०७४ साल माघमा तस्करी गरेर ल्याएको साढे ३३ किलो सुन हराएको थियो । उत्तः सुन अहिलेसम्म भेटिएको छैन । त्यही सुन गायब बनाएको आरोपमा गोरे समूहले करेन्ट लगाएर यातना दिँदा २०७४ साल फागुन १९ गते सनम शाक्यको मृत्यु भएको थियो । अनुसन्धानबाट शाक्य सुन तस्करको भरिया रहेको पत्ता लागेको थियो ।

शाक्य हत्या प्रकरणको अनुसन्धान गर्ने क्रममा सुन तस्करको जालो पत्ता लागेको थियो । गोरे मुख्य नाइके रहेको दुवईबाट नेपालमा हुने सुन तस्करीको गिरोहमा खड्का पनि महत्वपूर्ण सदस्य रहेको खुलेको छ ।

सरकारी वकिल कार्यालयले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा १७ अर्ब एक करोड ८० लाख ७१ हजार चार सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार पाँच सय ६३ ग्राम (करिब ३८ क्वीन्टल) अवैध रुपमा सुन आयात गरिएको दावी गरिएको छ ।

Loading...