भारतका कारण तराई क्षेत्र डुबानमा, सीमा क्षेत्रमा निर्माण भएका तटबन्ध हटाउने पहल थाल्न निर्देशन

काठमाडौं, २९ असार । नेपाल – भारत सीमा नजिक बनेका सडक, बाँध, तटबन्धलगायतका भौतिक संरचनाहरु तत्काल हटाउने पहल थाल्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सोमबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अन्तर्राष्ट्रिय मापदण्ड विपरित सीमा क्षेत्रमा निर्माण भएका सडक, बाँध, तटबन्ध लगायतका भौतिक संरचनाहरुलाई तत्काल हटाउने पहल थाल्न निर्देशन दिएको हो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले भारतले सीमा क्षेत्रमा निर्माण गरेको बाँध र सडकका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको बताएका थिए ।

सीमा निजक बनेका संरचनाहरुले नेपाल तर्फ डुवान परेकोले त्यस्ता संरचनाहरुलाई तत्काल हटाउनुपर्ने समिति सभापति शशी श्रेष्ठले बताइन ।

समितिले भू–बनोटको जाँच गरी उच्च जोखिममा रहेका बस्तीहरुलाई अन्यत्र सुरक्षित ठाउँमा स्थानान्तरण गर्न पनि निर्देशन दिएको छ । यस्तै डुवान मुक्त घरको नमुना तयार गरी एकीकृत वस्ती बसाल्न आवश्यक व्यवस्था गर्न निर्देशन दिइएको सभापति श्रेष्ठले बताइन ।

बाढी पहिरो र डुबानबाट प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी समाधानका लागि कार्ययोजना र गुरुयोजना तयार गर्न निर्देशन दिएको छ ।

समितिले बाढी पहिरो र डुबानबाट पर्न सक्ने असरलाई तत्काल व्यवस्थिगत गर्न स्थानीय तहमा श्रोत साधन सहतिको विपद व्यवस्थापन कार्यालयको स्थापना गर्न समेत निर्देशन दिएको छ ।

बाढी प्रभावित क्षेत्रहरुमा स्वास्थ्य सेवा तथा सरसफाई, सर्पदंश तथा अन्य औषधि उपचारको अवस्यक व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

विपदको समयमा हुनसक्ने सम्भावित चोरी डकैति, बलात्कार र महिलामाथि हुन सक्ने हिंसाका घटनाहरु प्रति सजग रही भरपर्दो सुरक्षा प्रबन्ध मिलाउन समेत गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

Loading...