सिरी ‘ए’ : नापोली र मिलान बराबरीमा रोकिए

एजेन्सी, २९ असार । इटालियन सिरी ‘ए’ मा नापोली र एसी मिलानले बराबरीमा रोकिएको छन् । आइतबार राति भएको खेलमा नापोली र मिलानले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

नापोलीको मैदानमा भएको खेलमा पाहुना टोलीले सुरुआती अग्रता बनाएको थियो । खेलको २०औं मिनेटमा थिओ हर्नान्डेजले गोल गर्दै मिलानलाई अग्रता दिलाए ।

खेलको ३४औं मिनेटमा जियोभानी डी लोरेन्जोले गोल गरेपछि नापोली बराबरीमा फर्कियो । खेलको ६०औं मिनेटमा ड्राइज मार्टेन्सले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ७३औं मिनेटमा मिलानले पेनाल्टीको मौका पाएको थियो, जसमा फ्रान्क केस्सेले गोल गर्दै मिलानलाई बराबरीमा फर्काए ।

८७औं मिनेटमा एलेक्सिस सालेमाकर्सले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा सीमित भएको थियो । र, बाँकी समय गोल हुन नसकेपछि खेल बराबरीमा रोकियो ।

यस बराबरीसँगै साविकको उपविजेतासमेत रहेको नापोली ५२ अंक बनाएको छ । नापोली पाँचौं स्थानबाट छैटौं स्थानमा झरेको छ ।

मिलान भने ५० अंकका साथ सातौं स्थानमा यथावत छ ।

Loading...