प्रिमियर लिग : आर्सनलमाथि टोटनह्यामको जित

एजेन्सी, २९ असार । इंग्लिस प्रिमियर लिगमा टोटनह्याम हटस्परले आर्सनलमाथि जित निकालेको छ । आइतबार राति भएको खेलमा टोटनह्यामले आर्सनलमाथि २–१ गोलको जित निकालेको हो ।

टोटनह्यामको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन सन हिउङ–मिन र टोबी अल्डरवेइल्डले समान एक–एक गोल गरे । आर्सनलका एलेक्जान्द्रे लाकाजेट्टेले एक गोल गरे ।

खेलमा आर्सनलले सुरुआती अग्रता बनाएको थियो । खेलको १६औं मिनेटमा लाकाजेट्टेले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाए ।

खेलको १९औं मिनेटमा हिउङ–मिनले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको उक्त खेलको ८१औं मिनेटमा अल्डरवेइल्डले गोल गर्दै टोटनह्यामलाई जिताए ।

जितसँगै टोटनह्यामले अंक तालिकामा आर्सनलको स्थान आगटेको छ । ५२ अंक बनाउँदै टोटनह्याम आठौं स्थानमा उक्लिएको छ । आर्सनल भने नवौं स्थानमा झरेको छ । आर्सनलसँग ५० अंक छ ।

कोरोना महामारीपछि सुचारु लिगमा आर्सनलले आठ खेल खेलेको छ । जसमध्ये आर्सनलले चार खेलमा जित, ३ खेलमा पराजित र एक खेल बराबरी खेलेको छ ।

यता, टोटनह्यामले भने महामारीपछि सुचारु लिगमा छ खेल खेलेको छ, जसमा उसले ३ खेलमा जित, २ खेलमा बराबरी र एक खेलमा हार ब्यहोरेको छ ।

Loading...