ढुक्क हुनुस्, कुनै पनि हालतमा पार्टी विभाजन हुन दिँदैनौं : प्रचण्ड

काठमाडाैं, २८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कुनै पनि हालतमा पार्टी विभाजन हुन नदिने बताए ।

गृहजिल्ला चितवन पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी विभाजन नहुनेमा ढुक्क हुन आग्रह गरे ।

पार्टीभित्र आन्तरिक विवाद चर्किएका बेला ठाउँठाउँमा भएका प्रदर्शनहरुलाई लक्षित गर्दै दाहालले व्यक्तिपिच्छे नारा लगाउन बन्द गर्न आग्रह गरे ।

पार्टी एकता जिन्दाबाद भन्नुपर्ने बेला यताउति गएमा भोलि पछुताउनुपर्ने अवस्था आउने उनले बताए ।

‘‘राष्ट्रवाद मुर्दावाद र जिन्दावादको कुरा हो ? पार्टीभित्र मुर्दावाद जिन्दावाद भन्ने कुरा हो ? पार्टीलाई विभाजित हुन दिने छैनौँ । पार्टी एकतावद्ध हुन्छ तपाईं अहिले यताउता दौडिनुभयो भने पछुताउनुपर्छ । भोलि पछुताउने परिस्थिति नआवस् । एकता जिन्दावाद भनेर सबैले एकताको नारा लगाउँ यही नै राष्ट्र र कम्युनिष्ट आन्दोलनको हितमा छ,’’ उनले भने ।

स्थायी समिति बैठकले निर्णय नगर्दासम्म धेरै टिप्पणी गर्न विधि र सिद्धान्तले नदिने उनले बताए ।

स्थायी समिति बैठक एकहप्ताका लागि स्थगित भएको उल्लेख गर्दै दाहालले पार्टी एकता घोषणापूर्ण पनि विभिन्न प्रस्तावहरू आएपनि आफू विचलित नभएको र अहिले पनि त्यस्तो अवस्था आउन नदिने बताए ।

Loading...