सरकारले भारतीय च्यानलहरूमाथिको बन्देज तत्काल नखोल्ने

काठमाडौं, २८ असार । सरकारले भारतीय न्यूज च्यानलहरूमाथिको बन्देज तत्काल खोल्न नसकिने स्पष्ट पारेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्यूज च्यानलमाथिको बन्देज परिस्थितिअनुकूल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।

मिडिया सोसाइटीका प्रतिनिधिहरूसँगको भेटमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले परिस्थितिअनुकूल भएर ती मिडियाहरू नसुध्रिँदासम्म बन्देज कायम राख्न सेवा प्रदायकहरूलाई आग्रह गरिएको बताए ।

सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहेका अर्थमन्त्री डा. खतिवडाले सेवा प्रदायकहरूले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्यूज च्यानलहरूमाथिको बन्देज तत्काल नखोलिने बताए ।

नेपालीहरूको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढंगले जान नसुहाउने भएपनि भारतीय न्यूज च्यानलहरूले दुरासायपूर्ण रूपले अगाडि बढेकाले तत्काल प्रतिवन्ध नहट्ने उनले बताए ।

उनले भने, ‘नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यवद्धता हामीले प्रदर्शन गरेका छौँ । यो नेपालीहरूको एकताबाट तर्सेको पनि हुन सक्छन् । एकताबाट तर्सेर, चित्त नबुझेर भएपनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्ने ढंगले जन कुनै पनि मिडियाले सुहाउँदैन ।’

‘भारतीय मिडियाहरुको कदमलाई हामीले दुरासायपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरुले स्वस्फुर्त रूपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिबन्ध लगाउनुभयो । परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिँदासम्म प्रतिवन्ध कायम राख्न म आग्रह गर्दछु,’ उनले भने ।

Loading...